अंकेत पुरी, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध नियन्त्रणमा एउटा महत्त्वपूर्ण सफलता हात पारेको छ। पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चोकमा प्रहरीले चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो।
प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २६६६ नम्बरको सार्वजनिक बसमा चेकजाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।
उनका अनुसार, बसमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ निवासी २३ वर्षीय राज महमद देवानले सेतो बोराभित्र म्याटले फोल्ड गरेको ब्लाङ्केटमा कालो प्लाष्टिकले बेरेर लुकाइएको अवस्थामा लागुऔषध राखेका थिए। पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले प्रतिबन्धित लागुऔषध नियन्त्रणमा निरन्तर लागिरहेको छ र यसप्रकारको चेकजाँच अभियानलाई अझ कडाईका साथ निरन्तरता दिने बताएको छ।