अंकेत पुरी,पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका विभिन्न कार्यालयहरूमा छड्के अनुगमन गर्दा कार्यसम्पादनमा अनियमितता र कैफियत भेटिएको छ। अनुगमनका क्रममा मालपोत, शहरी तथा भवन निर्माण, यातायात, नेपाल विद्युत प्राधिकरण, स्वास्थ्य, र डिभिजन वन कार्यालयमा कर्मचारीहरूको अनुपस्थिति र ढिलो आउने समस्यामा विशेष ध्यानाकर्षण गरिएको छ।
अनुगमन विवरण र कैफियत:
१. भूमी सुधार तथा मालपोत कार्यालय, पर्सा: यहाँ ५१ दरबन्दी कर्मचारीमध्ये ५६ जना कार्यरत थिए तर ३ जना अनुपस्थित, ४ जना विदामा, र २१ जना ढिलो कार्यालय आएका पाइएको छ।
२. सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, पर्सा: २० दरबन्दीमा १ जना विदामा, ८ जना अनुपस्थित, र १ जना हाजिरी नगरेको पाइएको छ।
३. यातायात व्यवस्था कार्यालय, पर्सा: कार्यालय प्रमुखसहित ११ जना अनुपस्थित रहेका थिए।
४. नेपाल विद्युत प्राधिकरण कार्यालय, पर्सा: यहाँ इ-हाजिरी लागू भए पनि अनुपस्थित कर्मचारीहरूको विवरण अद्यावधिक हुन नसकेको पाइएको छ।
५. स्वास्थ्य कार्यालय, पर्सा: यहाँ ५ जना अनुपस्थित र १ जना विदामा रहेका थिए।
६. डिभिजन वन कार्यालय, पर्सा: ५ जना अनुपस्थित र १ जना विदामा रहेका थिए।
तत्काल निर्देशन र कारवाही प्रक्रिया:
१. ढिलो आएका कर्मचारीहरूलाई निर्देशन: ढिलो आउने कर्मचारीहरूलाई कार्यालय प्रमुख र निरीक्षण टोली संयोजकले मौखिक चेतावनी दिएका छन्। अब उपरान्त ढिलाइ भएको खण्डमा कारवाही गर्ने स्पष्ट निर्देशन दिइएको छ।
२. अनुपस्थित कर्मचारीको व्यवस्थापन: साइट/फिल्डमा गएका कर्मचारीहरूको विवरण अद्यावधिक गर्न र लगबुक राख्न निर्देशन गरिएको छ।
कार्यालयबाट उठाइएका कदमहरू:
१. प्रदेश अन्तर्गत रहेका कार्यालयहरूका कर्मचारीहरूमा देखिएको कैफियतका आधारमा सम्बन्धित मन्त्रालयलाई कारवाहीका लागि पत्राचार गरिनेछ। अन्य कार्यालयका हकमा कर्मचारीहरूलाई स्पष्टीकरण सोधिनेछ।
२. जनसम्पर्क र गुनासो बढी भएका कार्यालयहरूको नियमित अनुगमन गरिने छ। उपस्थित नहुने, पोसाक नियम पालना नगर्ने, र आचरण नमिल्ने कर्मचारीलाई कारवाहीको सिफारिस गरिने छ।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्मचारीहरूको कार्यसम्पादनमा सुधार गर्न कदम चालेकोले सरकारी सेवा प्रवाहमा सुधारको अपेक्षा गरिएको छ।