अंकेत कुमार पुरी, वीरगंज। मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्जस्थित ऐतिहासिक नारायणी क्रिकेट मैदानको निरीक्षण गर्दै यसको संरक्षण र प्रबद्र्धनमा प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्री सिंहले यस मैदानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गरेको हुँदा यसको संरक्षण अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।
मुख्यमन्त्री सिंहले यात्रा डेलीलाई दिएको अन्तर्वार्तामा भने, “यो मैदान मधेश प्रदेशको गौरव हो। हामी यसलाई अझ सुदृढ बनाउन र संघीय सरकारसँग सहकार्य गरिरहेछौं।” संघीय सरकारले यस आर्थिक वर्षमा बजेट नबिनियोजन गरेकोमा निराशा व्यक्त गर्दै उनले दातृ निकाय र अन्य संघसंस्थासँग पनि सहयोगका लागि समन्वय गरिरहेको जानकारी दिए।
प्रदेश सरकारद्वारा क्रिकेट मैदानको लागि बजेट छुट्याइएको बताउँदै उनले मुआब्जाको समस्या समाधान गर्न काठमाण्डौमा खेलकुद मन्त्रीसँग छलफल गर्ने योजना सुनाए। मुख्यमन्त्री सिंहले भने, “अहिले मुआब्जा सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाउने पहल गर्छु।”
प्रदेश सरकारले उपलब्ध स्रोत साधनअनुसार खेल क्षेत्रको विकासमा निरन्तरता दिने बताउँदै मुख्यमन्त्री सिंहले भविष्यमा थप बजेटको व्यवस्था गरेर क्रिकेट मैदानलाई व्यवस्थित बनाउने योजना रहेको जानकारी दिए।
क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले नारायणी क्रिकेट मैदानको वर्तमान अवस्थाबारे जानकारी गराउँदै हाल पिच निर्माण सम्पन्न भएको र मुआब्जाको विषय समाधान गर्न आग्रह गरे। अध्यक्ष सिंहले भने, “क्रिकेट मैदानको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) तयार छ, बजेट आएपछि अन्य निर्माण कार्य थालनी हुनेछ।”
सो अवसरमा नेशनल सेलेक्टर मुर्तुजा हवारी, क्रिकेट संघ पर्साका सचिव घनश्याम बाबु गुप्ता, क्यानका पूर्व केन्द्रीय सदस्य दाउद अन्सारी, प्रदेश सदस्य बाबुजान अन्सारी, जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, चिफ सेलेक्टर राजिव श्रेष्ठ लगायत विभिन्न खेलकर्मीको उपस्थिति रहेको थियो।