अनुसा थापा, भक्तपुर । सरकारले जनतालाई डेलिभरी दिन सकेन्, सुशासन कायम गर्न सकेन्, भ्रष्टाचार गर्यो, ऐनकानुन बनाउन सकेन्, कालोबजारी नियन्त्रणमा निरीह रह्यो भने विपक्षी दलले सदन र सडक संघर्ष गर्ने हो । सदन र सडक सँधै विपक्षी दलको हुन्छ ।
विपक्षी दलले सदन र सडकबाट सरकारको ध्यानाकर्षण गराउने हो ।
अहिले विपक्षी दलमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’, नेकपा एकीकृत समाजवादी पार्टी छ । २०४८ सालभन्दा पछाडिको विपक्षी दल एकदमै कमजोर देखिन्छन् । न सदनमा आवाज उठाउन सक्छन् न सडकमा । उनीहरु नाम मात्रको विपक्षी बनेका छन् ।
संसद् स्थगित भएको झण्डै तीन महिना हुन लाग्यो । तर, विपक्षी दलहरु सदन चलाउन माग गर्दैनन् । सत्तापक्षले जे भन्यो, त्यसैमा प्रतिपक्ष टाउको हल्लाउँछन् । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दललाई गन्दै गन्दैनन् । किन कि उनले विपक्षी दलको मुटु छामिसकेका छन् ।
देश र जनताका लागि विपक्षीले केही गर्न सक्दैनन् भन्ने उनले बुझिसकेका छन् । ओली सरकार बनेको चार महिना भयो । तर, यो अवधिमा एउटा सिन्को भाँच्ने कामसमेत भएन् । सरकार पूर्ण रुपमा असफल देखिसकेको छ । सरकार नाम मात्रको सरकार भएको छ । हामी प्रधानमन्त्री र मन्त्री भन्दै ‘दिन कटाउने र माना पचाउने’ काम मात्र भयो ।
हरेक नागरिकको जनजिब्रोमा देशको अर्थतन्त्र डामाडोल छ भन्ने छ । सरकारले उनीहरुमा नयाँ आशा पनि ल्याउन सकेन् । न कालोबजारी रोक्न सक्यो । न लामो समयदेखि कायम यातायातको सिण्डिकेट तोड्न सरकार सफल रह्यो । मँहगी बढेर जनताको ढाड सेकिएको छ । व्यापार व्यवसाय सुकेको छ ।
वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या बढेको बढ्यै छ । तैपनि सरकारलाई चासो छैन् । सरकार जनताप्रति अलिकति पनि जिम्मेवार देखिँदैन् । आफ्नो कुर्सी टिकाउनमै सरकार व्यस्त छ भने सरकारप्रति जनता आक्रोशित छन् । सत्तापक्ष होस् या विपक्ष पछिल्लो समय उनीहरुको व्यापक विरोध भइरहेको छ ।
सत्तापक्ष काम गर्न सक्दैन्, विपक्षी आवाज उठाउन सक्दैन् । आन्दोलन गर्ने, सरकारको विरोध गर्ने विपक्षीले भएपनि सत्तापक्षले यो काम गर्दैछ । एउटा चर्चित उखान छ,‘कहीँ नभएको जात्रा हाडीँगाऊँमा ।’ त्यहीँ दृश्य अहिले राजनीतिक पार्टीहरुमा देखिएको छ । सत्तापक्षले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।
नेकपा एमालेले एक लाख मान्छे उतार्ने घोषणा गरेको छ । सत्तापक्षले सडकमा मान्छे उतार्दा सर्वसाधारणले के सोच्छन् ? आफैं सरकारमा बस्ने, काम गर्न नसक्ने अनि सडक आन्दोलन गर्ने । सडक आन्दोलन कसको ध्यानाकर्षण गराउन ? किन कि अहिले सरकारको नेतृत्व त एमालेले नै गरिरहेको छ ।
काम गर्न नसकेपछि चर्चामा आउने एउटै माध्यम आन्दोलन बनेको छ । मुलुक कुन गतिमा छ ? यो हरेक नागरिकलाई थाहा भइसकेको छ । व्यापार व्यवसाय ठप्प हुँदा व्यापारीहरु विदेश जाने सोचमा छन् । कोठा फल्याट जताततै खाली देखिन्छ । सर्वसाधारणले रोजगारी पाइराखेका छैनन् ।
यस्तोमा काम गरेर समस्या समाधान गर्नुको साटो सत्तापक्ष सडकमा उत्रिँदै छ । यो भन्दा हाँसोलाग्दो कुरा के होला ? माओवादी अध्यक्ष पुष्पकमल दाहालले १० वर्ष जनयुद्धको नेतृत्व गरे । तीन चोटि त उनी प्रधानमन्त्री बने । त्यत्रो जनयुद्धको कमाण्डर गरेको व्यक्ति अहिले सत्तापक्षको अगाडि निरीह छन् ।
माओवादीबाटै अर्का नेता डा बाबुराम भट्टराई प्रधानमन्त्री बने । तर, उनीले पनि केही उखालेनन् । चार चोटि प्रधानमन्त्री पाएको व्यक्तिले यातायातमा भएको सिण्डिकेट त हटाउन सकेन् भने अरु के गर्छ ? वास्तवमा भन्ने हो भने देश र जनताका लागि कोही पनि प्रधानमन्त्री बनेको होइन् ।
आफ्नो व्यक्तिगत स्वार्थका लागि उनीहरु नेता भएका हुन् । काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रचण्ड, केपी शर्मा ओली, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल बारम्बार प्रधानमन्त्री भए । पदमा गए, आफूलाई देशको प्रधानमन्त्री भने, सकियो । देश लथालिङ्ग बनाएर आफूलाई नेता भन्न यिनीहरुलाई लाज लाग्नुपर्ने हो ।
मुलुकको अवस्था नाजुक बनिसकेको छ, अब पनि जनताको आँखा नखुले कहिले खुल्ने ? अब कार्यकर्ता होइन्, देशलाई जनताको खाँचो परेको छ । जनता कार्यकर्ता बनेकै कारण नेताहरुले आफ्नो मनोमानी चलाए । देशलाई आफ्नो निजी सम्पत्तिझैं गरे । यत्रो प्रधानमन्त्री आए र गए, तर कसैले जनताको समस्या बmुझ्न चाहेनन् ।
देश कहाँ छ ? जनता कहाँ छन् ? सरकारले देखेन् । जस्तो नेता भए, हाम्रा कर्मचारी पनि त्यस्तै भए । सबै देश लुटाहाहरु हुन् । सत्तापक्ष, विपक्षी, सरकारी कर्मचारी सबै देशलाई लुट्नलाई आएका हुन् । लुट्छन्–लुट्छन् अनि सबै सकेपछि सडकमा उत्रिन्छन् । नेताहरु कमाउधन्दातिर लागेका छन् ।
देश खोक्रो परिसक्दापनि उनीहरुलाई चैन आएको छैन् । अझैपनि लुटन सक्छौं कि भन्ने उनीहरुमा छ । जनताको अवस्था दिनप्रतिदिन नाजुक बनिरहेको छ । तर, नेताहरुलाई मतलब छैन् । सरकारी खर्च बढेको बढ्यै छ । उठेको राजश्वभन्दा धेरै खर्च छ । विदेशमा बसेका नेपालीहरुले पठाएको रेमिट्यान्स पनि यिनीहरुको सेवासुविधामै सकिरहेको छ ।
वैदेशिक ऋण बढेको बढ्यै छ । देश लुट्ने लुट्ने लुट्ने अनि त्यसपछि सडकमा उत्रिने । लाज पनि नलाग्ने रहेछ । ऋण तिर्न नसकेर झण्डै एक लाख १५ हजार ऋणी कालोसूचीमा परेका छन् । उनीहरु सडकमा आइसकेका छन् । देशमा बस्न नसक्ने स्थिति छ । सहकारीले पैसा खाइदिएर सर्वसाधारणको घरमा रुवाबासी छ ।
ओली सरकार त रातदिन नभनिकन समाधान निकाल्नमा खट्नुपर्ने हो । विडम्बना, त्यसो हुन सकेन् । काम गर्न नसकेपछि ओली सरकार कार्यकर्ता उतार्नतर्फ लागेको छ । योभन्दा ठूलो नौटंकी के होला र ? काम गरेर प्रगति देखाउनुको साटो ओली सरकार आफ्नो पार्टीको शक्ति देखाउँदैछ ।
मेरो पार्टीमा यत्रो कार्यकर्ता छन्, कसैले मेरो केही उखाल्न सक्दैन् भनेर देखाउन खोजेका होलान् । ओलीलाई जनता चुनौती दिन्छन्,‘यदि वास्तवमै देश र जनताको लागि प्रधानमन्त्री बनेको हो भने रातदिन नभनिकन काम गर्नुपर्यो, नत्र पद छोड्नुपर्यो । बिनाकाम जनताले तिरेको करको दुरुपयोग नहोस् । जनतालाई नअल्मलाइयोस् । देशलाई थप बर्बाद नपारियोस् ।’
जनतामा व्यापक निराश छाएको छ । जनतालाई न आफ्नो भविष्य थाहा छ न देशको । बुढा नेताहरु देशको गुनगान गाउँछन्, तर आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि आउँदैनन् । अब यो देशको लागि कसले के गर्छ ? जनता विदेशमा छन्, कार्यकर्ता यहाँ, त्यसैले नेताहरुको मनोमानी बढेको हो ।
देश चलाउने ड्राइभिङ सिटमा ओली छन् । उनले देशलाई खाल्डामा हाल्छन्, हाल्छन् । उनी यस्तो व्यक्ति हो, जो काम गर्न नसकेपछि थरीथरीको स्टण्ट देखाइहाल्छन् । आफ्नो विरोध भयो कि उनी कि सदन विघटन गर्छन् कि कार्यकर्ता सडकमा उतार्छन् । यसअघि प्रधानमन्त्री हुँदा उनले काम गर्न सकेनन् भनेर चौतर्फी आवाज उठ्यो ।
उनले दुईपटक सदन अवरोध गरिदिए । अहिले पनि उनको व्यापक विरोध भइसकेको छ । जनताले असफल प्रधानमन्त्री भनेर खिँचाइ गरिरहेका छन् । यसपटक उनी कार्यकर्ता उतारेर जनतालाई आफ्नो शक्ति देखाउँदैछन् । उनी काम गर्ने क्षमता कति छ ? उनी कस्तो खालको व्यक्ति हुन् ? भन्ने जनताले बुझिसकेका छन् । जनताको मुखमा बुझो लगाउन उनी लागिपरेका छन् ।
अनुसा थापा
भक्तपुर