बीरगंजमा सशस्त्र प्रहरी बलद्वारा ३५ लाख भन्दा बढीको अवैध सामान भन्सार दाखिला
अंकेत कुमार पुरी, बिरगंज,पर्सा जिल्लाको बिभिन्न स्थानबाट सशस्त्र प्रहरी बल, पर्सा प्र.सी.सु. गुल्म बिरगंजद्वारा मिति २०८१।०८।०९ गते रु. ३५,३९,३७१ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ।
१. भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद
सशस्त्र प्रहरीको टोलीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट तथा अन्य स्थानबाट अवैध रुपमा भन्सार छलि नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको छ। ना २ ह ५५९० नम्बरको ई–रिक्सामा र अन्य सार्वजनिक सवारी साधनमा लोड गरिएको रु. १७,१८,६२१ बराबरको किराना सामान, मोटर पार्ट्स, मोबाइल एसेसरिज, कपडा, कफी दाना र विभिन्न सामान्य औषधि बरामद गरिएको छ। ई–रिक्साको रु. ३,२०,००० मूल्याङ्कनसहित उक्त सामानको कुल मुल्य रु. २०,३८,६२१ रहेको छ। यी सामान आवश्यक कारबाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
२. नेपालबाट भारततर्फ लैजाँदै गरेको मदिरा बरामद
त्यसैगरी, नेपालबाट भारततर्फ लुकाइछिपाई लैजाँदै गरेको रु. २२,०५० बराबरको मदिरा र BR 05 R7402 नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ। मोटरसाइकलको रु. १,२०,००० मूल्याङ्कन गरी कुल रु. १,४२,०५० बराबरको सामान नियन्त्रणमा लिइएको छ। यी सामान पनि बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
३. अवैध सुपारीको गोदाममा छापा
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र भन्सार कार्यालय पर्साको संयुक्त टोलीले बिरगंज महानगरपालिका–५, रेल्वे रोडस्थित नेपाल रोड क्यारियर्समा छापा मारी ३,८८२ किलोग्राम सुपारी बरामद गरेको छ। यसको कुल मुल्य रु. १३,५८,७०० रहेको छ। आवश्यक कारबाहीका लागि सुपारी पनि भन्सार कार्यालयमा बुझाइएको छ।
- सशस्त्र प्रहरी बल, पर्साले सीमामा भइरहेको अवैध कारोबार रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस घटनाले सीमा सुरक्षामा प्रहरीको सतर्कता थप मजबुत रहेको पुष्टि गरेको छ।