अनिकेत कुमार पुरी, काठमाडौँ, मङ्सिर १२ – मधेस प्रदेशकै कानुन शिक्षामा अग्रणी डेसिमल कलेजले कानुन संकायका विद्यार्थीहरूको लागि दुईदिने शैक्षिक भ्रमण कार्यक्रमको आयोजना गरेको छ। भ्रमणको क्रममा विद्यार्थीहरूलाई विश्व प्रसिद्ध पशुपतिनाथ मन्दिरको दर्शन गराउँदै, मन्दिरको ऐतिहासिक महत्त्व र धार्मिक महिमा बारे जानकारी दिइयो। विद्यार्थीहरूले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्दै धार्मिक ऊर्जा प्राप्त गरेको अनुभव गरे।
भ्रमणकै क्रममा विद्यार्थीहरूलाई सर्वोच्च अदालत पनि लगियो, जहाँ उनीहरूले न्याय प्रणाली, अदालतको संरचना, र कानुनी प्रकृयाहरू नजिकबाट अवलोकन गरे। भ्रमणपछि विद्यार्थीहरूले उच्च मनोबलका साथ आफूहरू पनि एकदिन सर्वोच्च अदालतका न्यायाधीश बन्ने संकल्प व्यक्त गरे।
त्यसपछि विद्यार्थीहरू काठमाडौँ जिल्ला अदालतको भ्रमणमा गए। अदालतको व्यवस्थित संरचना, सुरक्षाको राम्रो व्यवस्था, र न्याय सम्पादन प्रक्रियालाई देखेर विद्यार्थीहरू उत्साहित भए। भ्रमणको अर्को प्रमुख आकर्षण नेपाल बार एसोसिएसन र काठमाडौँ जिल्ला बार एसोसिएसनको भ्रमण रह्यो, जहाँ विद्यार्थीहरूले कानुन व्यवसायीहरूका गतिविधि र काम गर्ने शैलीबारे महत्वपूर्ण ज्ञान प्राप्त गरे।
भ्रमण कार्यक्रमको सफलतापछि विद्यार्थीहरूले डेसिमल कलेजका संस्थापक निर्देशक सनी दुबेलाई धन्यवाद दिए। दुबे सरको अथक प्रयास र दूरदृष्टिका कारण कलेजले कानुन शिक्षामा यो सफलता हासिल गरेको हो। २०७५ सालमा स्थापित डेसिमल कलेजले सात वर्षको छोटो समयमा नै मधेस प्रदेशकै उत्कृष्ट कानुन कलेजको रूपमा आफ्नो पहिचान बनाएको छ।
सनी दुबेले “कानुन सबैले जानून्, बुझून् र पालन गरून्” भन्ने सोचका साथ कलेज स्थापना गरेका हुन्। प्रत्येक वर्ष विद्यार्थीहरूलाई यस्ता शैक्षिक भ्रमणमा सहभागी गराउँदै उनीहरूको शैक्षिक अनुभवलाई थप समृद्ध बनाउँदै आएको कलेजको यो प्रयास प्रशंसनीय छ।
विद्यार्थीहरूले भ्रमणका क्रममा नयाँ ज्ञान हासिल गर्नुका साथै आफूहरूको करियरप्रति थप प्रेरित भएको अनुभव गरेका छन्। डेसिमल कलेजको यो पहलले कानुन क्षेत्रमा योग्य पेशेवरहरू तयार गर्ने दिशामा ठोस योगदान दिइरहेको छ।