अनिकेत कुमार पुरी, वीरगञ्ज: बीरगञ्ज स्थितठाकुरराम बहुमुखी क्याम्पसमा केही दिनदेखि जारी कर्मचारी संगठनद्वारा गरिएको तालाबन्दीले विद्यार्थीहरूको शैक्षिक तथा प्रशासनिक गतिविधि ठप्प बनेको छ। यसले विद्यार्थीहरूमा अन्योलता सिर्जना गरेको छ भने, प्रशासनिक कार्यहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
समस्या समाधानका लागि समाजवादी विद्यार्थी युनियन नेपालका इकाई अध्यक्ष दिलखुश देवानले क्याम्पस प्रशासनसँग तत्काल वार्ता गरी समाधान खोज्न दबाब दिएका छन्।
युनियनले तीन बुँदे मागसहित एक विज्ञप्ति जारी गर्दै तालाबन्दी समाधानका लागि स्पष्ट प्रस्ताव अघि सारेको छ। मागहरू यसप्रकार छन्:
1. कर्मचारी संगठन र क्याम्पस प्रशासनबीच वार्ता गरी तालाबन्दी तुरुन्त खुलाउन पहल गरियोस्।
2. रोकिएका विद्यार्थीका प्रशासनिक कार्यहरू प्राथमिकताका साथ शीघ्र सम्पन्न गरियोस्।
3. यस्ता समस्याहरू दोहोरिन नदिन दीर्घकालीन समाधानका लागि ठोस योजना तयार गरियोस्।
युनियनका अध्यक्ष दिलखुश देवानले भने, “तालाबन्दीका कारण विद्यार्थीहरूको भविष्यमा नकारात्मक असर पर्न सक्छ। क्याम्पस प्रशासनले यस समस्यालाई तत्काल समाधान गर्नुपर्ने हाम्रो कडा माग हो। हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रशासनले यसप्रति चासो नदेखाउनु गम्भीर आपत्तिको विषय हो।”
युनियनले माग पूरा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। युनियनको भनाइमा, यस्तो परिस्थितिमा विद्यार्थीहरूको भविष्य सुरक्षित राख्न प्रशासनले चाँडै कदम चाल्नुपर्छ।
युनियनले प्रशासन र कर्मचारी संगठनबीच सहमति गराउन दबाब दिँदै भविष्यमा यस्ता समस्या रोक्न दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको औंल्याएको छ।
सम्बन्धित निकायहरूको चासो र तत्परताले मात्र विद्यार्थीहरूको भविष्यलाई सही मार्गमा राख्न सहयोग पुग्ने देखिन्छ।