कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता

  • कालिका खवर
  • बुधबार, मंसिर २६, २०८१
  • काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताउनुभएको छ ।

    नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आजदेखि सुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताउनुभएको हो । सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उहाँले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताउनुभयो ।

    ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ,’ मुख्यसचिव अर्याललाई ध्यानाकर्षण गराउनुहुँदै मन्त्री गुप्ताले भन्नुभयो, ‘मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या पर्‍यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परिसान’ छु ।’

    अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहोर्‍याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ । ‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाइँहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ ।’

    कर्मचारीले अध्ययनका साथै आफ्नो क्षमतामा विश्वास गरेर अघि बढ्नुपर्ने सुझाव उहाँको छ । आफ्नो जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफै प्राप्त हुने भन्नुहुँदै मन्त्री गुप्ताले राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउनाका साथै देशको गरिमा समेत जोगिने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs