रास्कोट अस्पताल निर्माणमा भ्रष्टाचार भएको छैन : मुकुल ढकाल

  • कालिका खवर
  • बिहिबार, मंसिर २७, २०८१
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्त पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले कालिकोटको रास्कोट अस्पताल निर्माणमा कुनै पनि भ्रष्टाचार नभएको प्रष्टीकरण दिएका छन्। कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउन्डेसन खोलेर रास्वपाका सभापति रवि लामिछानेले रकम संकल गरेको भन्दै समाचार बाहिरिएपछि त्यसको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले आफ्नोकुनै पनि संलग्नता नरहेको तर, रवि लामिछाने फाउन्डेसनमाथि आफूलाई पनि शंका लागेको जिकिर गरेका छन्।

    ‘रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुईवटा फरक संस्था हो। रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन’ उनले भनेका छन्। तर, रवि लामिछाने फाउन्डेसनको पैसा हिनामिनाको शंका आफूलाई त्यतिबेला नै लागेको उनको दाबी छ। ‘मैले तत्कालीन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिएँ। दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिएँ, र केही चेकमा मेरो हस्ताक्षर पनि छन्’, उनको भनाइ छ।

    आफूले काटेको चेक कुनै हिनामिनामा संलग्न नरहेको दाबी गरेका उनले त्यसको पूरै जिम्मेवारी लिने बताएका छन् । उनले सो सम्बन्धनमा रवि लामिछाने, डिपि अर्याल, दिपक बोहोरा, निकिता पौडेलमाथि छानबिन गर्न माग गरेका छन्। ‘दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिए, र केहि चेकमा मेरो हस्ताक्षर पनि छन् र मैले काटेको चेक कुनै हिनामिनामा संल्गन छैन र म त्यसको पूरै जिम्मेवारी लिन्छु’ उनले भनेका छन् ‘नेपाल सरकार र सम्बद्ध निकायलाई फाउन्डेशन र अस्पतालको विषयमा रवि लामिछाने, डिपि अर्याल, दिपक बोहोरा, निकिता पौडेल र म मुकुल ढकाल माथि छानविनका लागी आग्रह गर्दछु । म कुनै पनि प्रकारको अनुसन्धान र छानविनको लागी पूर्णरूपले तयार छु र हुलहुज्जत बिना कानुनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs