अनिकेत कुमार पुरी, बीरगञ्ज, माघ ७, पर्सा।पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका–१४, पिपरास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टरमा “२४ औँ सशस्त्र प्रहरी दिवस” को अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा आयोजित यो कार्यक्रम आज बिहान ८:३० बजे सुरु भई ११:४० बजे सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह उपस्थित रहे। कार्यक्रममा सशस्त्र प्रहरी बल नं. १३ गणका गणपति सप्रउ राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेल, र नेपाली सेनाका वरिष्ठ सैनिक अधिकृत देवबहादुर बोहराको विशेष उपस्थिति थियो।
रक्तदान कार्यक्रममा ५७ जनाले सहभागिता जनाएका थिए, जसमा ५६ पुरुष र १ महिला रहेका थिए। कार्यक्रममा सहभागीहरूमध्ये धेरैले रक्तदान जस्तो मानव सेवा कार्यमा सशस्त्र प्रहरीको योगदानलाई उच्च सम्मान व्यक्त गरेका थिए।
सशस्त्र प्रहरी बलका नायब उपरीक्षक तथा सूचना अधिकारी नरेन्द्र सिंह धामीका अनुसार, कार्यक्रमले समुदायप्रति प्रहरीको दायित्वबोधलाई थप सुदृढ बनाएको छ। “यस प्रकारका कार्यक्रमहरूले समाजप्रति हाम्रो सेवाभावलाई अझ मजबुत बनाउन सहयोग पुर्याउँछ,” उनले भने।
सशस्त्र प्रहरी बलको यो पहलले रक्तदानको महत्त्वलाई उजागर गर्दै समाजमा सकारात्मक प्रभाव पारेको छ। रक्तदानजस्तो मानवीय कार्यले थुप्रै मानिसहरूको जीवन बचाउन सहयोग पुग्ने विश्वास गरिन्छ।