
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकल्प र नीतिहरूको प्रभाव देखिन थालेको छ । जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकाबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसयता उनले सीमामा कडाई गरेका छन् भने अवैध आप्रवासीलाई समातेर धमाधम देश निकाला गरिरहेका छन् । यसै सन्दर्भमा अमेरिकी प्रशासनले २०५ अवैध भारतीय आप्रवासीको समूहलाई सेनाको सी–१७ सैन्य विमानमा फिर्ता पठाएको छ ।
पछिल्ला दुई हप्तामा भारत बाहेक, धेरै देशका अवैध आप्रवासीहरूलाई अमेरिकाबाट देश निकाला गरिएको छ । सी–१७ सैन्य विमानबाट भारतीय आप्रवासीहरूलाई भारत फिर्ता पठाइएको भन्दै समाचार एजेन्सी पीटीआईले पनि समाचार छापेको छ । सो खबरका अनुसार, अमेरिकाले राष्ट्रपति ट्रम्पको नीतिहरूको पालना गर्दै आप्रवासन कानुनलाई कडा बनाइरहेको नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ताले भनेको भनिएको छ ।
विमानमा २०५ भारतीय भएको अनुमान
पेन्टागनले टेक्सासको एल पासो र क्यालिफोर्नियाको सान डिएगोका शिविरहरूमा राखिएका ५ हजारभन्दा बढी आप्रवासीहरूलाई देश निकाला गर्न उडानहरू सुरु गरेको नाम न छाप्ने सर्तमा एक अमेरिकी अधिकारीले भनेका छन् । अधिकारीहरूका अनुसार, एउटा सी–१७ विमान अवैध आप्रवासीहरू बोकेर भारतको लागि उडेको छ ।
करिब २४ घण्टामा विमान अमृतसर पुग्ने बताइएको छ । अधिकारीले उडानमा कति जना सवार थिए भन्ने कुरा खुलाएका छैनन् । तर सञ्चार माध्यमहरूमा खबरहरू अनुसार विमानमा २०५ जना भारतीयहरू रहेका छन् । पछिल्ला दुई हप्तामा, ट्रम्प प्रशासनले सैन्य विमान प्रयोग गरेर धेरै अवैध आप्रवासीहरूलाई ग्वाटेमाला, पेरु र होन्डुरस डिपोर्ट गरेको छ । अवैध आप्रवासीहरूलाई देश निकाला गर्न सैन्य विमानहरू पठाएका ठाउँमध्ये भारत सबैभन्दा टाढाको गन्तव्य हो ।