अनिकेत कुमार पुरी, बीरगञ्ज,माघ २३,पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको समस्या समाधानका लागि एउटा महत्वपूर्ण र उदाहरणीय कदम चालेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको नेतृत्वमा प्रशासन कार्यालयभित्र इजलास स्थापना गरिएको छ, जसका कारण न्याय खोज्न आउने नागरिकलाई तत्काल छलफलमार्फत समाधान निकाल्ने सुविधा मिलेको छ।
नयाँ व्यवस्थाअन्तर्गत, घरेलु हिंसा, अभद्र व्यवहार, सार्वजनिक मुद्दा, मिटर ब्याज, ठाडो उजुरी लगायतका विषयमा दिनहुँ ५ देखि ७ उजुरीको छलफल प्रशासनमै हुने गरेको छ। हालै पर्साको बहुदरमाई–२ स्थायी घर भई वीरगञ्ज–१२ बसोबास गर्ने निरज कुमार रौनियार र नन्दनी रौनियारबीच इजलासमै छलफल गरी पारिवारिक मेलमिलाप गराइएको छ। श्रीमान्–श्रीमतीबीच उत्पन्न घरेलु हिंसासम्बन्धी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्दै उनीहरूलाई एकताबद्ध पार्नु प्रशासनको महत्वपूर्ण उपलब्धि हो।
प्रमुख जिल्ला अधिकारी अर्यालको यो प्रयासले कानुनी प्रक्रियालाई सहज बनाउनुका साथै समाजमा मेलमिलापको संस्कारलाई प्रवर्द्धन गरिरहेको छ। उजुरी दिन आउने पीडितहरूले लामो कानुनी प्रक्रियामा अल्झिनु नपर्ने र तुरुन्त छलफलमार्फत न्याय प्राप्त गर्न सक्ने भएकाले यो कदमलाई निकै स्वागतयोग्य मानिएको छ।
इजलास स्थापना गरेसँगै जिल्ला प्रशासन कार्यालय पर्सा नागरिकहरूको भरोसाको केन्द्र बन्दै गएको छ। विशेष गरी, सीडीओ अर्यालको सक्रिय नेतृत्वले प्रशासनिक सुधारका नयाँ आयाम स्थापित गर्दैछ। न्यायिक प्रक्रियामा सहजता, तत्काल विवाद समाधान, र पीडितलाई राहत दिने यस्ता कदमहरू अन्य जिल्लाका प्रशासनहरूले पनि अनुकरण गर्नुपर्ने खालका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको यो पहल प्रशंसनीय छ, जसले न्याय प्राप्तिका लागि आउने नागरिकहरूलाई छिटो, सहज, र न्यायोचित समाधानको अनुभूति गराएको छ। सेवा समूह नेपाल र कालिका खबर तर्फबाट उहाँको यो कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी प्रशासनिक सुधारको कामना गर्दछौं।