
काठमाडौँ। सफल निर्देशक मिलन चाम्सले लभ स्टोरी जनराको नयाँ चलचित्र ‘सुम्निमा’ निर्देशन गर्ने भएका छन्। फरक-फरक जनराका चलचित्रहरू ‘बिर बिक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’ र ‘गोर्खा वारियर’ निर्देशन गरिसकेका चाम्सले यस पटक शुद्ध प्रेमकथामा आधारित चलचित्र बनाउन लागेका हुन्।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुन लागेको यस चलचित्रको नाम ‘सुम्निमा’ राखिएको छ। चलचित्रको नाम नारी पात्रको झल्को दिने भए पनि यसमा प्रेमकथालाई मुख्य रूपमा प्रस्तुत गरिने निर्देशक चाम्सले बताएका छन्।
राजीव थापाको लेखनमा निर्माण हुने चलचित्रको छायांकन आगामी अगस्टमा लन्डन र नेपालमा गरिने योजना रहेको छ। अहिले चलचित्रका कलाकार तथा प्राविधिक टिमको छनोट प्रक्रिया जारी रहेको चाम्सले जानकारी गराएका छन्।
यसैबीच, निर्देशक चाम्सको अर्को चलचित्र ‘अञ्जिला’ भने फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।