अनिकेत कुमार पुरी, बीरगञ्ज,माघ २४, पर्सा– राष्ट्रिय निजी तथा विद्यालय संगठन बीरगञ्जद्वारा सञ्चालित कक्षा १० को प्री-बोर्ड परीक्षा आज शान्ति र मर्यादित वातावरणमा सुरु भएको छ। परीक्षामा १३ माध्यमिक विद्यालयका करिब २७० विद्यार्थी सहभागी भएका छन्। परीक्षा केन्द्र बीरगञ्जको डेसिमल मा.वि. मा तोकिएको थियो, जहाँ दुईटा ब्लकमा परीक्षा केन्द्र राखिएको थियो। ब्लक (A)का इन्चार्ज अखिलेश पाण्डे लाई र ब्लक (B)का इन्चार्ज लक्ष्मण यादवलाई बनाइएको छ। सो परीक्षा सम्बन्धी सबै जानकारी परीक्षा संयोजक सनी दुबेले गराउनु भएको छ।
विद्यार्थीहरूको शैक्षिक स्तर परीक्षण गर्न तथा एसईई परीक्षा पूर्व तयारी सुदृढ बनाउन प्री-बोर्ड परीक्षा अत्यन्त महत्वपूर्ण मानिन्छ। यस परीक्षाले विद्यार्थीहरूलाई वास्तविक परीक्षा वातावरणको अनुभव दिलाउँदै उनीहरूको आत्मविश्वास बढाउने कार्य गर्दछ।
विद्यालय प्रशासनले परीक्षालाई अनुशासित, पारदर्शी र व्यवस्थित बनाउन विशेष ध्यान दिएको छ। परीक्षा केन्द्रमा आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ, जसका कारण विद्यार्थीहरूले सहज वातावरणमा परीक्षा दिन पाएका छन्। परीक्षाका दौरान शान्ति, अनुशासन र मर्यादा कायम गरिएको प्याब्सन बीरगञ्जका पदाधिकारीहरूले बताएका छन्।
परीक्षाको सफल सञ्चालनका लागि विद्यालय प्रशासन, शिक्षकगण, अभिभावक तथा परीक्षार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। परीक्षालाई मर्यादित बनाउन विद्यालय प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै नेशनल प्याब्सन बीरगञ्जले विद्यालयहरूलाई बधाई तथा विद्यार्थीहरूलाई आगामी परीक्षामा उत्कृष्ट सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेको छ।