भक्तपुरमा अझै नेमकिपा र एमालेको दादागिरी

  • कालिका खवर
  • शुक्रबार, माघ २५, २०८१
  • अनुसा थापा, भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा जनता स्वयंले तिरेको करबाट अर्बौं रुपैयाँ खर्चेर सूर्यविनायक नगरपालिकाको भव्य प्रशासनिक भवन निर्माण गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १४ गते यसको उद्घाटन गरेपछि नगरपालिका नयाँ भवनमा स्थानान्तरण भएको छ।

    नगरपालिकामा पुग्न सिर्जनानगर र सल्लाघारी दुई मुख्य सडक छन्। यिनै बाटो भएर जनप्रतिनिधि र कर्मचारी कार्यालय आउँछन्। ओलीको आगमनको अघिल्लो दिन यी चोकहरूमा महँगा स्वागत गेटहरू बनाएर प्रधानमन्त्री र मेयर बासुदेव थापाको तस्बिर राखियो। सडकलाई चकाचक बनाइयो, अन्यथा अरु बेला हिँड्नै कठिन हुन्थ्यो।

    बिना दर्ता सञ्चालन भइरहेका पसलहरु

    नगरपालिकाको अगाडि रहेका पसलहरूसमेत दर्ताविहीन छन्। सडक विभाग, भक्तपुरको कार्यालय अगाडि रहेका पसलहरू पनि बिना दर्ता सञ्चालन भइरहेका छन्। त्यहाँबाट नै नगरपालिकाका कर्मचारीले दही-दूध किनेर लैजान्छन्। तर, नगर प्रहरीहरू यस्ता अनियमिततामा ध्यान नदिई घाम तापेर दिन बिताउँछन्।

    सरकारी जग्गा हडप्नेहरूको राज
    नगरपालिकाले सरकारी जग्गा हडपिएकोबारे कुनै चासो देखाएको छैन। पुरानो नगरपालिका भवन आसपास ठूला महलहरू ठडिएका छन्, जुन स्थानीय वृद्धहरूका अनुसार सरकारी जग्गा थियो। तर, नगरपालिकाले कुनै कारबाही अघि बढाएको छैन। यसमा कर्मचारीहरू पनि एमालेका झोले भएकाले उनीहरू नेतृत्वलाई खबर गर्नै चाहँदैनन्।

    नगर प्रहरीकै दादागिरी
    नगर प्रहरीहरू एमालेप्रति आस्थावान् छन्। कर्मचारी र जनप्रतिनिधिहरू एमालेकै छन्। सिर्जनानगर जाने सडकमा फलफूल पसल चलाउने एक नगर प्रहरी महिलाले खुलेआम भनिन्, “५ बजेपछि मात्र चोकमा सामान राख्नू, नत्र खोसियो भने म जिम्मेवार हुँदिनँ।”

    राजश्व नउठ्ने तर बेथिति मौलाउने

    देशका प्रधानमन्त्री र अर्थमन्त्री एमालेकै भए पनि उनीहरू राजश्व उठाउन असफल छन्। नगरपालिकाले बिना दर्ता पसल सञ्चालन गर्न दिएको छ। घरबहाल करसमेत उठाइँदैन। सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरू निकम्मा सावित भएका छन्।

    जग्गा दलाली र भ्रष्टाचार

    ५ नम्बर वडाका वडाध्यक्ष राजकुमार जोशीले सुशील भैरवथानको जग्गा मिचेर महल ठड्याएका छन्। मेयर र वडाध्यक्ष दुवै जग्गा दलाली गर्दै आएका छन्। सरकारी जग्गा खोजेर व्यक्तिगत रूपमा दर्ता गराउने धन्दा उनीहरूले राम्ररी जानेका छन्।

    भक्तपुरको ऐतिहासिक सम्पत्ति मासिँदै
    भक्तपुर नेपालकै सबैभन्दा सानो जिल्ला भए पनि यहाँ सरकारी, गुठी, मठमन्दिरका जग्गा प्रशस्त थिए। तर, एमाले, कांग्रेस, मजदूर किसान पार्टीलगायत दलहरूले मिलेर ती जग्गाहरू व्यक्तिका नाममा दर्ता गरिसके। खेतीयोग्य जमिन प्लानिङ र खण्डीकरण गरी नष्ट पारियो।

    विकास होइन, सम्पत्तिको लुट
    पूर्वसांसद महेश बस्नेतले काठमाडौंका मेयर बालेन्द्र साहलाई भक्तपुरको विकास हेर्न आउन भनेका थिए। तर, उनले “विकास होइन, सरकारी सम्पत्तिको सत्यानाश हेर्न आउ” भन्नुपर्ने थियो। ललिञ्चोकको बाँसघारीमा सयौं रोपनी खेतीयोग्य जमिन प्लानिङ गरेर टुक्र्याइएको छ, जहाँ बस्नेत र मेयर थापाको लगानी रहेको बताइन्छ।

    नेमकिपा र एमालेको अराजकता
    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेमकिपाको विरोध गर्न पाइँदैन, नत्र नागरिकताको सिफारिस दिँदैनन्। क्षेत्र नम्बर २ मा एमालेको विरोध गर्यो भने धारापानी दिँदैनन्। भक्तपुरमा नेमकिपा र एमालेको यस्तो दादागिरी छ, जसलाई स्थानीय जनताले तोड्न सकेका छैनन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs