
अनिकत कुमार पुरी,बारा । २०८१ फागुन ४ – बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित शुभलाभ ट्रेडर्स अगाडि शनिबार दिउँसो करिब १२:१५ बजे भीषण सवारी दुर्घटना भएको छ। पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ट्रक (ना ६ ख २८९५) ले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल (ना ४० प ४१९५) लाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परेर जितपुर सिमरा-२ का अन्दाजी २५-३० वर्षीय उदित नारायण झाको उपचारका क्रममा LS न्युरो अस्पताल, परवानिपुरमा दिउँसो १:०२ बजे मृत्यु भएको छ। त्यस्तै, सोही स्थानका अन्दाजी १८ वर्षीय उत्पल आचार्य गम्भीर घाइते भएका छन्। उनको दाहिने खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ र उनको अवस्था नाजुक रहेको बताइएको छ।
यसैबीच, घटनालगत्तै प्रहरीले ट्रकका चालक र सह-चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका चालक धादिङ गजुरी गाउँपालिका-६ पोखरी खोला निवासी अन्दाजी ३६ वर्षीय सन्दिप भुजेल तथा सह-चालक अन्दाजी २१ वर्षीय सुशिल थापालाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
यो दुर्घटनाले सवारी सुरक्षाप्रति थप सजगता आवश्यक रहेको पुनः उजागर गरेको छ। ट्राफिक नियमको पालनासँगै चालकहरूले थप सचेत भएर सवारी साधन चलाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ।