
निरोज श्रेष्ठ । सरकारले प्रत्येक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने नीति ल्याए पनि यसको कार्यान्वयनमा भने सधैं नै अवरोध देखिंदै आएको छ। अनेरास्वियु एनआर क्याम्पस कमिटीका उपाध्यक्ष निरज श्रेष्ठका अनुसार विद्यार्थी आन्दोलनको महत्वपूर्ण पक्षको रूपमा रहेको स्ववियुको चुनाव अन्यौलमा रहनु गम्भीर विषय हो।
त्रिभुवन विश्वविद्यालयले आउँदो चैत्रमा निर्वाचनको कार्यतालिका सार्वजनिक गरे पनि यसले विद्यार्थीमाझ शंका उपशंका उब्जाएको छ। समयमै निर्वाचन नभइरहँदा विद्यार्थी अधिकार र नेतृत्व विकासको अवसर गुम्दै गएको देखिन्छ।
विद्यार्थी आन्दोलन र स्ववियुको भूमिका
नेपालको इतिहासलाई नियाल्ने हो भने विद्यार्थी संगठनले राजनीतिक र सामाजिक क्षेत्रमा निर्णायक भूमिका खेलेको देखिन्छ। स्ववियुले पञ्चायत व्यवस्था देखि हालसम्म सरकारले गरेका अन्याय र कुचेष्टाविरुद्ध आवाज उठाउँदै आएको छ। निरज श्रेष्ठ भन्छन्, “हिजोको जहानियाँ राणाशासन र पञ्चायतविरुद्ध आवाज उठाएको विद्यार्थी आन्दोलनले भविष्यमा पनि अन्यायविरुद्ध उभिनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।”
निष्क्रियता र स्वार्थको असर
पछिल्लो समय विद्यार्थी संगठनहरू निष्क्रिय बन्न पुगेका छन्। यसको मुख्य कारण भनेको व्यक्तिगत स्वार्थमा केन्द्रित नेतृत्व हो। यस्ता क्रियाकलापले संगठनको मूल उद्देश्यलाई नै कमजोर बनाइरहेको छ।
स्ववियु निर्वाचनको आवश्यकता
राज्य सञ्चालनमा जति भूमिका सरकारको हुन्छ, त्यति नै भूमिका क्याम्पसमा स्ववियुको हुन्छ। विद्यार्थीको हकहितको संरक्षण, नेतृत्व क्षमता अभिवृद्धि, र शिक्षाको स्तर सुधार गर्न स्ववियु अत्यावश्यक छ।
तर, त्रिभुवन विश्वविद्यालयले प्रत्येक दुई वर्षमा निर्वाचन गराउनुपर्ने कानूनी व्यवस्था भए पनि यसको पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। समयमै निर्वाचन भएमा मात्र सक्षम नेतृत्व उत्पादन हुन सक्छ र विद्यार्थीको आवाज सशक्त रूपमा उठाउन सकिन्छ।
स्ववियु निर्वाचनको अन्यौलता र निष्क्रियताले विद्यार्थी आन्दोलनको महत्त्वमा ह्रास आइरहेको छ। त्यसैले नीति मात्र बनाएर होइन, यसको प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता हो। त्रिभुवन विश्वविद्यालयले पनि समयमा नै निर्वाचन गराएर विद्यार्थीलाई लोकतान्त्रिक अभ्यासको अवसर दिनुपर्छ।
स्ववियु नेतृत्वको खडेरी हटाउन र विद्यार्थीको आवाज बुलन्द बनाउन निर्वाचनको स्पष्ट कार्यान्वयन हुनैपर्छ।