
अनुसा थापा, भक्तपुर । नेपालको वर्तमान राजनीतिक परिवेशलाई सम्झिँदा २०७४ फागुन ३ गतेको एउटा तस्बिर धेरैलाई याद आउँछ— केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाँदै गरेका। ओली प्रधानमन्त्री हुनुअघि नै उक्त भेटघाट भएको थियो, जसमा प्रचण्ड पनि सहभागी थिए। त्यसबेलादेखि मार्सी चामलको चर्चा व्यापक भयो। तर, त्यो घटनाले केवल चामलको चर्चा मात्र होइन, राजनीतिक समीकरणलाई पनि नयाँ मोड दियो।
त्यतिबेला ओली र प्रचण्डबीच आधा-आधा कार्यकाल सरकार चलाउने ६ बुँदे सम्झौता भयो। ३० महिना ओली र ३० महिना प्रचण्डले सत्ताको बागडोर सम्हाल्ने समझदारी बन्यो। त्यस्तै, पार्टीको अध्यक्षता प्रचण्डले लिने निर्णय पनि त्यहीँ भएको थियो। रोचक कुरा के भने, त्यो सम्झौतामा कुनै राजनीतिक दलको नेताले होइन, व्यापारी दुर्गा प्रसाईंले मध्यस्थता गरेका थिए।
तर अहिले प्रसाईंकै आलोचना गर्ने बेला आएको छ। उनी व्यापारी मात्र होइनन्, राजनीतिक रूपमा समेत प्रभाव जमाउन खोजिरहेका छन्। प्रसाईंले बैंकबाट अर्बौं ऋण लिएर आफूलाई आर्थिक रूपमा सुदृढ बनाए। कहिले एमाले, कहिले माओवादी त कहिले राजावादी बनेर उनी आफ्नो स्वार्थ अनुसारको राजनीति खेल्दै आएका छन्।
अब प्रश्न उठ्छ— किन जनता प्रसाईंको पछि लागिरहेका छन्? जवाफ सरल छ: जनतामा व्यवस्थाप्रति अविश्वास पैदा भएको छ। जनताको बलिदानबाट प्राप्त गणतान्त्रिक व्यवस्था नेताहरूले नै खोक्रो बनाए। १७ हजार जनताले ज्यान गुमाएको, हजारौं अपाङ्ग भएका व्यवस्थालाई नेताहरूले नै असफल बनाएका छन्।
नेताहरू नैतिक रूपले पतन भए, भ्रष्टाचारमा लिप्त भए, जनताको समस्यालाई बेवास्ता गरे। प्रसाईं जस्ता व्यापारीहरूलाई अवसर दिए, जसले अहिले व्यवस्था विरुद्ध हल्ला गर्न थालेका छन्।
जनताको असन्तुष्टि बढ्दै जाँदा राजतन्त्रको माग फेरि उठ्न थालेको छ। प्रचण्ड र ओलीले राजतन्त्र फर्कदैन भने पनि इतिहास भन्छ— जब जनता सडकमा उत्रिन्छन्, कुनै पनि सत्ता टिक्दैन। २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापित भयो, २०६२/६३ मा राजतन्त्र अन्त्य भयो। अहिले जनता फेरि निराश छन्, राजतन्त्रको माग फेरि उठ्दैछ।
देशको आर्थिक स्थिति खराब छ। भ्रष्टाचार, महँगी, बेरोजगारी, ऋण, कुशासनले जनता निराश बनेका छन्। नेताहरू विलासी जीवन बाँचिरहेका छन्, करोडौंको घडी, महँगो गाडी, ठूल्ठूला महलमा रमाइरहेका छन्। जनताले नेताहरूलाई किन नखेद्ने?
राजनीतिज्ञहरूले समयमै चेत नपाए, व्यवस्था फेरि संकटमा पर्नेछ। जनता सडकमा उत्रिए भने नेताहरूलाई भाग्ने ठाउँ पनि रहनेछैन। ‘अतिले खति गर्छ’ भन्ने नेपाली उखान नेताहरूले समयमै बुझ्न जरुरी छ।
अनुसा थापा
भक्तपुर