
अनुसा थापा, भक्तपुर । नेपालमा राजनीति गर्ने चाहे राजावादी हुन् या गणतन्त्रवादी, दुवैको उद्देश्य एउटै देखिन्छ—जनतालाई भुल्याउने र देश लुट्ने। आजको दिनमा जनता प्रश्न गरिरहेका छन्—देशको २७ खर्ब विदेशी ऋण कहाँ गयो? विदेशबाट पठाइएको रेमिट्यान्स कहाँ हरायो? जनताले तिरेको कर कता पुग्यो? २०४६ सालअघि नेपालले गुमाएको भूमि बेचेर आएको पैसा खोइ? देशैभरिका सरकारी, गुठी, सार्वजनिक जग्गा बेचेर आएको रकम कहाँ हरायो?
निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब, कोरोना बीमाको १६ अर्ब कहाँ गयो? यी प्रश्नहरूको जवाफ जनताले तत्कालीन राष्ट्रपति र प्रधानमन्त्रीहरूसँग खोजिरहेका छन्। रामवरण यादव, विद्यादेवी भण्डारी, रामचन्द्र पौडेलदेखि लिएर प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, खिलराज रेग्मी सबैले हिसाब दिनु आवश्यक छ।
देश लुट्नेहरूको मनोमानी
नेपाल सबै नेपालीको साझा हो। तर, नेताहरूले देशलाई निजी सम्पत्ति झैँ व्यवहार गरे। विदेशीलाई देशका स्रोतहरू सस्तोमा बेचे। देशभित्रै भएका सम्पत्तिहरूको दोहन गर्दै भ्रष्टाचारको खेल खेलियो। यिनले विदेशमा जम्मा पारेको धन तत्काल फिर्ता ल्याउनुपर्छ, होइन भने देश छोड्नुपर्छ।
जनताको अवस्था भयावह छ। खाना नपाएर आत्महत्या गर्नेहरू, सडक छेउ मागेर जीवन यापन गर्नेहरू, उपचार नपाएर अकालमा ज्यान गुमाउनेहरूको संख्या दिनानुदिन बढ्दो छ। तर नेताहरू भने आफ्नो ऐशआराममै व्यस्त छन्।
नेताहरूको पोल खुल्दै
नेताहरू अब जनताको बीचमा जान डराउँछन्। उनीहरूको पृष्ठभूमि हेर्ने हो भने, पहिले दुई छाक खान गाह्रो पर्नेहरू आज अरबौंको मालिक बनेका छन्। के यो भ्रष्टाचार होइन? जनता ढिलो भए पनि अब जागेका छन्। नेताहरूको चरित्र थाहा पाएपछि उनीहरूको सातो गएको छ।
राजाको समर्थन र नेताहरूको पतन
पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाललाई २४० वर्षसम्म राजतन्त्रले चलायो। राजा ज्ञानेन्द्रले जनताका लागि सत्ता त्यागे। आज हजारौं जनता सडकमा राजाको समर्थनमा उत्रिनु कुनै संयोग होइन। किनभने जनताले नेताहरूको चाल, चरित्र र भ्रष्टाचारबाट वाक्कदिक्क भइसकेका छन्।
देशको वर्तमान अवस्था हेर्दा, जनताले सोच्न थालेका छन्—कति राजा पाल्ने भन्दा एउटै राजा पाल्नु बेस। यही कारणले राजधानीका सडकहरूमा राजाको समर्थनमा जनसागर देखियो।
राजनीतिक दलको असफलता
राजनीतिक दलहरूले आफ्ना कार्यकर्तामार्फत राज्यको सम्पत्ति लुटे। जनताको विश्वासको दुरुपयोग गर्दै भ्रष्टाचारको दलदलमा देशलाई धकेलियो। कार्यकर्ताहरूले समयमा खबरदारी गरेका भए देश यस्तो अवस्थामा पुग्ने थिएन। सञ्चारकर्मीहरू पनि अब मात्रै आफ्नो दायित्व सम्झिरहेका छन्।
आर्थिक संकट र विदेशी ऋण
विदेशी ऋण लिएर नेताहरूले आफ्ना गोजी भरे। राज्यको ढुकुटी रित्तिदैँ गयो। उद्योगहरू बन्द भए, उत्पादन शून्यतिर उन्मुख भयो। ऋण तिर्न नसक्ने अवस्था आउँदैछ। जसरी ऋण बढ्दै गएको छ, केही वर्षमा नेपालको ऋण दोब्बर हुनेछ।
देशको हालत यस्तो छ कि, कुनै दिन खाद्यान्न र इन्धन बन्द भयो भने भोकमरी लाग्ने अवस्था आउनेछ। जनता तिर्खाएको छन्, नेताहरू भने देश बेचेको पैसामा रमाइरहेका छन्।
नेताहरूको दोहोरो चरित्र
नेताहरूको दोहोरो चरित्र देखिन थालेको छ। राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीजस्ता नेताहरू लोकतान्त्रिक व्यवस्था अनुसार सांसद बने, तर राजालाई स्वागत गर्न विमानस्थल पुगे। जनतालाई मुर्ख ठानेर यिनीहरू जनताको आँखामा धुलो हालिरहेछन्।
राजावादी हुन् या गणतन्त्रवादी, उद्देश्य एउटै—जनतालाई भुल्याउने र देश लुट्ने।
नेपाल अहिले संकटमा छ। नेताहरूको मनोमानी, भ्रष्टाचार र विदेशी ऋणको भारले देश जर्जर भएको छ। यदि जनताले अझै पनि सचेत भएर खबरदारी गरेनन् भने, नेपाल अब ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा पर्न सक्छ।
देशलाई बचाउन जनताको सचेतना अत्यावश्यक छ। अब समय छ—जनताले नेताहरूको असली चेहरा चिन्नु, उनीहरूलाई जवाफदेही बनाउन। यदि ढिला गरियो भने, भोलिको नेपाल सम्झनुपर्ने अवस्था आउन सक्छ।