
काठमाडौं । टोखा नगरपालिकाको वडा नं. ११ र वडा नं. ८ लाई जोड्ने गोंगबु–बानियाँटार पुल आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। नगरप्रमुख प्रकाश अधिकारीले रिबन काटेर विष्णुमती खोलामाथि निर्माण गरिएको उक्त पुलको औपचारिक उद्घाटन गर्नुभयो।
२०७९ चैत १९ गते शिलान्यास गरिएको यो पुल नगरपालिकाको महत्वपूर्ण पूर्वाधार परियोजनामध्ये एक हो। उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रशासकीय अधिकृत शेरबहादुर बीसी, वडा नं. ११ का वडाध्यक्ष घनश्याम खड्का, वडा नं. ८ का वडाध्यक्ष रमेश खत्री, वडा नं. ५ का वडाध्यक्ष नरोत्तम राना, वडा नं. ७ का वडाध्यक्ष रामभक्त घिमिरे, कार्यपालिका सदस्यहरू, नगर सदस्यहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरप्रमुख अधिकारीले पुलको निर्माण सम्पन्न हुनु नगरवासीहरूका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भन्नुभयो, “यो पुलले वडा नं. ८ र ११ का बासिन्दाहरूलाई आपसी सम्बन्धमा अझ नजिक ल्याउनेछ र आवागमन सहज बनाउनेछ। विकासका योजना स्थायित्वका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश यो पुलले दिएको छ।”
स्थानीय बासिन्दाहरूले पुल निर्माणले उनीहरूको दैनिकीमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। समारोहमा पुल निर्माणमा योगदान पुर्याउने सबै पक्षप्रति धन्यवाद व्यक्त गरिएको थियो।