वीरगञ्जमा जिल्ला प्रहरी कार्यालयद्वारा होली विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन ३०, २०८१
  • वीरगञ्ज । फागु पूर्णिमा तथा रंगहरूको पर्व होलीको अवसरमा जिल्ला प्रहरी कार्यालय, पर्साले विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग होलीको अवसरमा शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र ऐक्यबद्धता बढाउने विश्वास व्यक्त गरे। उनले समाजमा शान्ति र अनुशासन कायम राख्दै मर्यादित रूपमा होली मनाउन सबैलाई आग्रह गरे।

    कार्यक्रममा उपस्थित प्रहरी अधिकारी तथा कर्मचारीहरूले आपसी मेलमिलाप, सद्भाव र हर्षोल्लासका साथ होलीको उत्सव मनाएका थिए। रंग र उमंगको यस पर्वले समाजमा एकताको सन्देश प्रवाह गर्ने र असल कार्यका लागि प्रेरित गर्ने बताउँदै मिश्रले ‘होली केवल रंगको पर्व मात्र नभई मनका विकारहरू जलाएर आपसी प्रेम र एकता बढाउने अवसर पनि हो’ भन्ने धारणा राखे।

     

    होली: रङ, उल्लास र आपसी एकताको पर्व

    होली हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्वमध्ये एक हो, जसलाई रङहरूको पर्वका रूपमा चिनिन्छ। यस पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व रहेको छ। होलीको सुरुआत पौराणिक कथासँग जोडिएको छ, जसअनुसार प्रह्लाद र होलिकाको कथाले असत्यमाथि सत्यको विजयको सन्देश दिन्छ। होली अघिल्लो दिन होलिका दहन गरिन्छ, जसले समाजका नकारात्मक प्रवृत्तिहरूलाई त्याग्ने र नयाँ सकारात्मक ऊर्जाका साथ अघि बढ्ने संकेत गर्दछ।

    रङहरूको प्रयोगले मानिसहरूलाई एक आपसमा प्रेमभाव र सद्भावका साथ जोड्ने काम गर्छ। समाजमा कुनै पनि प्रकारको विभाजन नभई सबैलाई समान रूपमा मनाउने अवसर दिनु होलीको प्रमुख उद्देश्य हो।

     

    मर्यादित होली मनाउने प्रहरीको आग्रह

    जिल्ला प्रहरी कार्यालय, पर्साले सुरक्षित र मर्यादित होली मनाउन सबै नागरिकलाई आग्रह गरेको छ। कुनै पनि असामाजिक गतिविधि नगर्न र जबरजस्ती रंग नलगाउन प्रहरीले अनुरोध गरेको छ। साथै, मादक पदार्थको सेवन नगरी जिम्मेवारीपूर्वक पर्व मनाउन पनि प्रहरी प्रशासनले सचेत गराएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs