बीरगंजमा १२५ किलो प्रतिबन्धित भारतीय कुखुरा बरामद, सशस्त्र प्रहरीको सक्रियता बढ्दै

  • कालिका खवर
  • शनिबार, चैत्र १, २०८१
  • बीरगंज, ०२ चैत। नेपाल-भारत सीमाक्षेत्र हुँदै भइरहेको अवैध तस्करी रोक्ने प्रयासस्वरूप सशस्त्र प्रहरी बल नेपाल, बी.ओ.पी. ड्राई पोर्टले आज बिहान १२५ किलो प्रतिबन्धित भारतीय तयारी कुखुरा बरामद गरेको छ।

    बीरगंज महानगरपालिका-२५, खल्वा टोल नजिकैबाट बरामद गरिएको उक्त कुखुरा सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको ५ जनाको सीमा अनुगमन तथा पैदल गस्ती टोलीले नियन्त्रणमा लिएको हो। बिहान करिब ८:५० बजे भारतबाट साइकलमा ओसारपसार गर्दै गर्दा गस्ती टोलीलाई देखेर संलग्न व्यक्ति कुखुरा र साइकल छोडेर भाग्न सफल भएका थिए।

    बरामद गरिएको कुखुराको अनुमानित बजार मूल्य करिब ४०,००० रुपैयाँ रहेको छ। सशस्त्र प्रहरी निरीक्षक मल्लका अनुसार उक्त कुखुरा पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, सर्वसाधारण तथा सञ्चारकर्मीहरूको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको छ।

    नेपाल सरकारले भारतीय तयारी कुखुराको आयातमा प्रतिबन्ध लगाएको भए तापनि सीमाक्षेत्र हुँदै तस्करीका घटनाहरू बारम्बार दोहोरिने गरेको छ। यस्ता अवैध गतिविधि रोक्न सुरक्षाकर्मीहरू अझ सतर्क भई नियमित गस्ती तथा निगरानीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs