मुख्यमन्त्री सिंहको कडा अनुगमन : जनकपुरधामका होटलहरूलाई स्वच्छता सुधार्न अन्तिम चेतावनी

  • कालिका खवर
  • सोमवार, चैत्र १०, २०८१
  • जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह जनकपुरधामका होटलहरूको स्वच्छता र खाद्य सुरक्षा सुधार गर्न सक्रिय रूपमा अनुगमन गर्दै आएका छन्। आइतबार १० वटा होटल अनुगमन गरेपछि उनले सोमबार बुलेट मोटरसाइकल चढ्दै थप ९ वटा होटलहरूको अनुगमन गरेका छन्।

    अनुगमन टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, साना उद्योग तथा घरेलु कार्यालय तथा जनकपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू संलग्न थिए।

    पर्यटन सहर जनकपुरमा स्वच्छता अभाव : मुख्यमन्त्री असन्तुष्ट

    मुख्यमन्त्री सिंहले जनकपुरधामलाई देशविदेशका पर्यटकहरूको महत्त्वपूर्ण गन्तव्यस्थल भएको उल्लेख गर्दै होटलहरूको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

    उनले भने, “धेरै होटलहरूले स्वच्छताको मापदण्ड पालना गर्न खोजे पनि पर्याप्त छैन। ग्राहक बस्ने ठाउँ सफा भए पनि भान्साघरहरूको सरसफाइ र सामग्री भण्डारण सुधार गर्न आवश्यक छ।”

    स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने होटलहरूमा कारबाहीको चेतावनी

    मुख्यमन्त्री सिंहले होटल व्यवसायीहरूलाई स्वच्छता सुधार गर्न आग्रह गर्दै भने, “हामी सुधारात्मक नीतिसहित आएका छौँ, तर यदि नियमको उल्लंघन दोहोरिएमा कानुनी कारबाही हुनेछ। अटेर गरे होटल बन्द गराउन पनि पछि हट्ने छैनौं।”

    अनुगमनका क्रममा फेला परेका गम्भीर कमजोरीहरू

    सोमबार गरिएको अनुगमनमा ९ होटलमध्ये एकमात्र होटलको अवस्था सन्तोषजनक पाइयो। अन्य होटलहरूमा सरसफाइ र खाद्य सुरक्षामा गम्भीर लापरबाही देखिएको अनुगमन टोलीले जनाएको छ।

    शिवचौकस्थित न्यु राधा होटल र छपरिया नास्ता पसलमा सरसफाइ अत्यन्त कमजोर देखिएपछि त्यहाँ रहेको २० लिटर अखाद्य तेल, प्याज, समोसा र लिटी नष्ट गरिएको छ। दुवै होटललाई अन्तिम चेतावनी दिँदै भान्साघर सुधार्न निर्देशन दिइयो।

    जनकचौकको होटल फिल इट र मिथिला यात्री निवासमा शाकाहारी र मांसाहारी खाना अलग राख्नुपर्ने, भान्साको सफाइ सुधार्नुपर्ने निर्देशन दिइयो। साथै, त्यहाँ रहेका बिग्रेका ब्रेड, ब्रेडरोटी र मासु नष्ट गरियो।

    लक्ष्मी मिष्टान भण्डारमा ५ थान म्याद गुज्रेका चाउमिन र २० पिस बिग्रेको बर्फी भेटिएपछि ती सामग्री नष्ट गरियो। होटलले तत्काल सुधार नगरे बन्द गराइने चेतावनी दिइयो।

    जनकपुर उद्योग वाणिज्य संघको समर्थन

    अनुगमनमा सहभागी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले होटल व्यवसायीहरूलाई त्रुटि सुधार्न आह्वान गर्दै भने, “व्यवसायीहरूले अब होटलको सरसफाइ सुधार्नै पर्छ, हामी पनि सुधारात्मक कदम उठाउनेछौं।”

    सरकारको अगाडि थप कडा अनुगमन योजना

    मुख्यमन्त्री सिंहले होटलहरूको मूल्य व्यवस्थापन, सरसफाइ र खाद्य सुरक्षामा प्रदेश सरकार गम्भीर रूपमा लागिपर्ने बताए। उनले भने, “होटल व्यवसायीहरूले हाम्रो निर्देशन पालना गर्नुपर्छ, अन्यथा कडा कारबाही हुनेछ।”

    यो अनुगमन अभियानले जनकपुरधामका होटल व्यवसायीहरूलाई गुणस्तर सुधार गर्न बाध्य बनाउने अपेक्षा गरिएको छ। मुख्यमन्त्री सिंहको सक्रियता स्वस्थकर खानाका लागि उपभोक्ताहरूलाई राहत दिलाउने संकेत हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs