ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी, आगो बस्ती पस्ने जोखिम

  • कालिका खवर
  • बुधबार, चैत्र १२, २०८१
  • काठमाडौं । ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । बागमती गाउँपालिका-४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ । स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको उनले बताए ।

    आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन सबैसँग अनुरोध गरेका छन् । वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् । ‘अहिले हामी आगो निभ्याउन व्यस्त छौं । आगो बस्ती पस्ने जोखिम भएकोले यतिखेर धेरै कुरा गर्न सक्ने अवस्था छैन,’ वडाध्यक्ष लामाले भने ।

    प्युटारका स्थानीय लालबहादुर भोम्जन सामुदायिक वनसँगै सटेको बस्ती जोखिममा रहेको बताउँछन् । स्थानीयको सक्रियतामा वनको डढेलो बस्ती आउन नदिनका लागि पातपतिङ्गर फालेर ‘फायर लाइन’ बनाउने काम भइरहेको उनले बताए । प्युटारको गढी भञ्ज्याङ र चौकीटोल क्षेत्रमा बढी जोखिम भएकोले सजगता अपनाइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनले भने, ‘वनमा लागेको डढेलो बस्तीमा आउन नदिन सजगता अपनाइएको छ । वडाबाट सर्वसाधारणलाई सचेत रहन र आगो निभाउनका लागि आह्वान गरिएको छ । जनप्रतिनिधि लगायत स्थानीय आगो निभाउने कार्यमा खटिएका छन् ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs