
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूको माग बमोजिम संसदमा गएर जवाफ नदिने अडान लिएका छन् । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे विपक्षीले जवाफ मागेको सन्दर्भमा प्रधानमन्त्री ओलीले यस्तो अडान लिएका हुन् ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो । त्यही हो जवाफ ।’ नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अगाडि थपे, ‘उहाँहरुलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन ।’ अनेक प्रकारका शक्तिहरूले उपद्रो गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रुँदैमा प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने बताए ।
विपक्षी दलहरूले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नबाट रोक्न सदन अवरोध सुरु गरेको आरोप लगाए । ‘सबैलाई थाहा छ १८ गतेभित्र अध्यादेशहरूलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयक पारित भएनन् भने कानुन बन्दैन, कानुनको रूपमा रहँदैन । त्यो अर्को विधेयकका रूपमा जानुपर्छ’ उनले भने, ‘त्यो बुझेर कानुन बनाउन नदिन विधेयक पास हुन नदिनका निम्ति यो सबै खेल भइरहेको छ । हामीले बुझेका छौं ।’
विपक्षीलाई प्रधानमन्त्रीले भने- उत्ताउलो नहुनुस्, चिसै पानीले नुहाउनुपर्छ
विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । थाहा छ तपाईंहरुको पृष्ठभूमि । के गर्न कता हिंडनुभएको थियो कहाँ आइपुग्नुभयो ।’
‘कुलमानले सरकारलाई टेरेनन्’
प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको बताए । ‘को को कर्मचारी भन्नुहुन्छ उहाँहरूले, के के भनिदिनुहुन्छ त्यसरी चलिदिने । त्यही कर्मचारी राखिदिनुपर्ने, सरकारलाई असहयोग गर्ने, नटर्ने । देशलाई अप्ठ्यारोमा पार्ने,’ उनले भने । घिसिङलाई अनुशासनहीन र अराजकको संज्ञा दिँदै उनले थपे, ‘अनुशासनहीन, अराजकता, राष्ट्रिय घाटा सबै सहनुपर्ने ? उहाँहरू के के न इस्यु पायौं भनेर बोकेर हिंड्ने । यो हामीले बुझेका छौं ।’
विपक्षी दलले सरकारलाई काम गर्नबाट रोकेको आरोप लगाउँदै उनले भने, ‘उहाँहरू देशलाई एक पाइलो अगाडि बढ्न नदिन चाहनुहुन्छ । कानुन पास हुन नदिन कोसिस गरिरहनुभएको छ । त्यसका निम्ति एउटा बहाना संसद अवरुद्ध गर्ने ?’ युवा सङ्घ निदाइरहेको बेला देशमा प्रतिगमन फर्काउने सपना कसैकसैले देखिरहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थ पूरा गर्न कसैले उल्क्याइदिंदैमा कोही कोही उल्किएको टिप्पणी गरे ।