
काठमाडौं । पछिल्लो समय गीत–संगीतको क्षेत्रमा उदाउँदो तारा बनेका कुशल प्रशासक तथा गायक अशोक बिष्टले राष्ट्रिय भावनाले ओतप्रोत नयाँ गीत ‘फर्कि आउन साथीसंगी, हाम्रो माटो रोईसक्यो’ सार्वजनिक गरेका छन्।
गीत आइतबार ओएसआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
विदेशी भूमिमा श्रम गर्न बाध्य भएका नेपाली युवाहरूलाई लक्षित गरी तयार पारिएको यस गीतमा स्वदेश फर्कन र यहीँ केही गर्न प्रेरणा दिने भावनात्मक सन्देश समेटिएको छ।
‘अब विदेशमा श्रम गर्न पुग्यो, विदेशको श्रमले हाम्रो नेपाल बाझो भइसक्यो,’ भन्ने मार्मिक शब्दहरूले युवालाई आफ्नै माटोमा फर्किन आह्वान गरिएको छ।
अशोक बिष्टले गीतमार्फत देशप्रतिको माया, जिम्मेवारी र सम्भावनाको चित्रण गर्दै युवाहरूलाई आफ्नो सीप र श्रम आफ्नै देशमा लगानी गर्न प्रेरित गरेका छन्।
यस गीतले न केवल संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ, तर लामो समयदेखि विदेशिएका युवाहरूलाई भावनात्मक रूपमा छुने विश्वास गरिएको छ।