
काठमाडौं । सहकारी क्षेत्रका समस्याहरू समाधान गर्ने उद्देश्यले बनेपा नगरपालिकाले ‘सेक्योस अनलाइन प्रणाली’ सुरु गरेको छ। सहकारी संस्थाहरूको शासकीय, वित्तीय तथा अन्य सूचकांकको आधारमा अनुगमन र मूल्यांकन गर्न सकिने यो डिजिटल प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु गरिएको हो।
यस प्रणालीको औपचारिक शुभारम्भ विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था (साकोस) बाट गरिएको हो। एक कार्यक्रमका बीच बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले प्रणाली उद्घाटन गर्दै यसको औजार विन्धबासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।
नगर प्रमुख शाक्यले विगतमा सहकारी क्षेत्र पारदर्शिताको अभाव, पदाधिकारीहरूको लापरवाही र कमजोर सूचना प्रणालीका कारण समस्यामा परेको उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोगले यी समस्या न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे। उनले विन्धबासिनी साकोसलाई देशकै नमुना सहकारी संस्था भन्दै धन्यवाद ज्ञापन गरे।
विन्धबासिनी साकोसको ४५औं सञ्चालक समिति बैठक समेत यही प्रणालीमार्फत सम्पन्न भएको थियो। अध्यक्ष श्रेष्ठले संस्था नीति, विधि र प्रक्रियाअनुसार सञ्चालन भएकोले विन्धबासिनी साकोस देशभर उदाहरणीय बनेको बताए।
बनेपा नगरपालिका सामाजिक तथा सहकारी शाखाका अधिकृत दिनेशकुमार पोखरेलका अनुसार, नगरभित्रका सबै सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा यो प्रणालीमा आबद्ध गराइएको छ। हालसम्म १०० भन्दा बढी सहकारी प्रणालीमा समावेश भइसकेका छन् भने बाँकी संस्थालाई पनि क्रमशः जोडिने प्रक्रिया जारी रहेको छ।
उनका अनुसार बचतकर्ताहरूको कमजोरी, पदाधिकारीहरूको लापरवाही र नियामक निकायहरूको बेवास्ताले सहकारी क्षेत्रमा समस्या देखिएको छ। अनलाइन प्रणालीले ती कमजोरी सुधार गरी सहकारी क्षेत्रमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘सेक्योस’ प्रणालीले २७ वटा सूचकका आधारमा सहकारीहरूको मूल्यांकन गर्नेछ। यसले सहकारी संस्थाहरूको वास्तविक अवस्था पहिचान गर्न मद्दत गर्ने नगरपालिका पक्षको विश्वास छ।
उद्घाटन कार्यक्रममा बनेपा नगरपालिका र विन्धबासिनी साकोसका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।