
दिल्ली । भारतको जम्मू कश्मीरमा भएको एक आतंकवादी आक्रमणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरेबिया भ्रमण छोट्याउने निर्णय गरेका छन्। साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबीएस) को निमन्त्रणामा मोदी मंगलबार दुई दिने औपचारिक भ्रमणमा साउदी अरेबिया गएका थिए।
प्रधानमन्त्रीको भ्रमण अन्तर्गत उनले साउदी अधिकारीहरूसँग विभिन्न द्विपक्षीय विषयमा छलफल गर्ने, एक राजकीय रात्रिभोजमा सहभागी हुने, र साउदीमा कार्यरत भारतीय कामदारहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको थियो। यद्यपि, कश्मीरमा भएको हिंसात्मक घटनालाई मध्यनजर गर्दै प्रधानमन्त्री मोदीले आफ्नो भ्रमण बीचमै स्थगित गरेका छन्।
प्रधानमन्त्रीको कार्यालय (पीएमओ) ले जारी गरेको एक संक्षिप्त वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री मोदी देशको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै साउदी भ्रमण छोट्याउने निर्णयमा पुगेका छन् र आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।”
भारत फर्किएलगत्तै प्रधानमन्त्री मोदीले सुरक्षा मामिलामा केन्द्र सरकारका शीर्ष अधिकारीहरूसँग आपतकालीन मन्त्रिपरिषद् बैठक गर्ने कार्यक्रम रहेको छ। यस बैठकमा आतंकवादी आक्रमणसँग सम्बन्धित सुरक्षा रणनीति र सम्भावित प्रतिकृयामाथि छलफल हुने बताइएको छ।
जम्मू कश्मीरमा भएको आक्रमणमा सुरक्षाकर्मीहरू सहित केही नागरिकको मृत्यु भएको पुष्टि भइसकेको छ। घटनाको जिम्मेवारी कसैले नलिए पनि भारतीय सुरक्षा एजेन्सीहरू यसबारेमा अनुसन्धानमा जुटेका छन्।
साउदी भ्रमण छोट्याउनु परे पनि भारत–साउदी सम्बन्धमा यसले कुनै नकारात्मक असर नपर्ने भारतीय अधिकारीहरूले बताएका छन्। आगामी दिनमा प्रधानमन्त्री मोदीको साउदी भ्रमण पुनः तय गरिने अपेक्षा गरिएको छ।