नेपालमा ३९७ वटा हिउँचितुवा रहेको नयाँ तथ्याङ्क सार्वजनिक

  • कालिका खवर
  • बुधबार, बैशाख १०, २०८२
  • काठमाडौं ।  विश्वमै दुर्लभ मानिने हिउँचितुवाको सन्दर्भमा नेपालबाट उत्साहजनक तथ्याङ्क सार्वजनिक गरिएको छ। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, नेपालमा हाल ३९७ वटा हिउँचितुवा रहेको पाइएको छ।

    नेपालको उच्च हिमाली क्षेत्रको ३० हजार ५ सय वर्गकिलोमिटर क्षेत्रमा हिउँचितुवाको बासस्थान रहेको छ। यो विश्वको कुल हिउँचितुवा बासस्थानको दुई प्रतिशत मात्रै भए पनि यहाँ विश्वको करिब १० प्रतिशत हिउँचितुवा पाइएका छन्, जुन अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन (आईयूसीएन) को निष्कर्षमा पनि पुष्टि गरिएको छ।

    अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वभर अनुमानित रूपमा ३,०२० देखि ५,३९० हिउँचितुवा रहेका छन्। यी दुर्लभ प्रजातिका वन्यजन्तुहरू मुख्यतः नेपाल, चीन, अफगानिस्तान, भुटान, भारत, काजकिस्तान, कीर्गीस्तान, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छन्।

    पछिल्लो समयमा नेपाल, भारत, मङ्गोलिया र भुटानले प्रविधिको प्रयोग, वैज्ञानिक अनुसन्धान र तथ्याङ्क विश्लेषणमार्फत हिउँचितुवाको संरक्षण तथा अध्ययनमा उल्लेखनीय प्रगति गरेका छन्। नेपालले जैविक विविधता संरक्षणमा अग्रणी भूमिका खेलिरहेको पुष्टि यस तथ्याङ्कले गरेको छ।

    सरकार तथा सरोकारवाला निकायहरूले हिउँचितुवा संरक्षणका लागि अझ प्रभावकारी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs