
टोखा, काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धि आधारभूत तालिमको आज एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। तालिम Mediation Nepal को सहकार्यमा आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सर्बोच्च अदालतका न्यायधिश सुनिल पोखरेलले कानुनी न्याय प्रणालीसँग मेलमिलाप प्रक्रियाको सम्बन्ध र यसको प्रभावकारीताबारे प्रकाश पार्दै स्थानीय तहमै विवाद समाधानको संस्कार विकास गर्न आवश्यक रहेको बताए। उनले मेलमिलाप प्रक्रियाले न्यायिक प्रक्रिया सजिलो, सस्तो र सहज बनाउने भएकाले यसको प्रभावकारी अभ्यासमा जोड दिन आग्रह गरे।
टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले नगरवासीबीच उत्पन्न हुने विवादहरुलाई सहजीकरणमार्फत समाधान गर्न मेलमिलाप तालिम उपयोगी हुने बताए। उनले मेलमिलापकर्ताको भूमिकाले समुदायमा शान्ति र सद्भाव कायम राख्न मद्दत पुग्ने धारणा राखे।
नगर उपप्रमुख मुरारी तामाङले मेलमिलाप तालिमले समुदायमा नेतृत्वदायी भूमिका खेल्ने युवा, महिला र समाजसेवीहरूलाई सक्षम बनाउने विश्वास व्यक्त गरे।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले मेलमिलाप प्रक्रिया स्थानीय सरकारको सेवा प्रवाहमा महत्वपूर्ण अंग बन्न थालेको र यस प्रकारका तालिमहरू नियमित रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
टोखा वडा नं. ०६ का वडाध्यक्ष शान्ता खनालले तालिमबाट वडा स्तरमै विवाद समाधानमा सहजता आउने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरिन्।
तालिममा विभिन्न वडाका प्रतिनिधि, सामाजिक अगुवा, महिला तथा युवाहरूको सहभागिता रहेको छ। तालिमले सहभागीहरूलाई विवाद व्यवस्थापन, संवाद र सहमतिको प्रक्रियामा आधारित समाधान विधि सिकाउनेछ।