SEE Dance Championship 2025 Season-6 तथा कोरियोग्राफर सम्मान समारोह हुँदै

  • कालिका खवर
  • शनिबार, बैशाख १३, २०८२
  • काठमाडौं । नृत्यलाई शैक्षिक, सांस्कृतिक तथा व्यावसायिक पक्षका रूपमा स्थापित गर्ने उद्देश्यसहित वज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमी, नारायणचोक, कपन-१०, काठमाडौंले मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजनमा तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा “SEE Dance Championship 2025 Season-6” तथा “कोरियोग्राफर सम्मान कार्यक्रम” यहि २०८२ साल बैशाख १२ गते शुक्रबारका दिन आयोजना गर्दैछ।

    पछिल्ला पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस राष्ट्रियस्तरको प्रतियोगितामार्फत SEE परीक्षा दिएका विद्यार्थीहरूको नृत्य प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई छात्रवृत्तिको अवसर प्रदान गर्ने गरिएको छ। प्रतियोगिताबाट हालसम्म १३६ जना विद्यार्थीहरूले देशभरका प्रतिष्ठित कलेजहरूमार्फत छात्रवृत्तिको सुविधा प्राप्त गरिसकेका छन्। यसपटक पनि प्रतियोगिता प्रि-अडिसन, सेमिफाइनल, फाइनल र डिजिटल अडिसन चरणहरूमा सञ्चालन गरिनेछ।

    प्रतियोगितामा सहभागी विद्यार्थीहरूको मूल्यांकन ८०% निर्णायक र २०% भोटिङको आधारमा गरिनेछ। प्रथम पुरस्काररुपमा रु १ लाख, दोस्रो रु ५० हजार, तेस्रो रु ३० हजार नगदसहित ट्रफी, प्रमाणपत्र, आकर्षक गिफ्टहरू र २० जना फाइनलिस्टलाई +२ तहसम्मको पूर्ण छात्रवृत्तिको अवसर प्रदान गरिनेछ। निर्णायकहरूमा देशका ख्यातिप्राप्त नृत्यज्ञहरू प्रेम श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन, शान्ति कठायत र पटेल रहनेछन्। यसपटक गण्डकी प्रदेशमा विशेष प्रदेशस्तरीय अडिसन पनि सञ्चालन गरिनेछ।

    यस कार्यक्रमको अर्को विशेष पक्ष “कोरियोग्राफर सम्मान समारोह” रहेको छ, जसअन्तर्गत पर्दा पछाडिबाट नृत्य प्रस्तुतिमा महत्वपूर्ण भूमिका खेल्ने कोरियोग्राफरहरूको योगदानलाई सम्मान गरिनेछ। २०८१ सालमा सम्पन्न नगरदेखि राष्ट्रियस्तरका लोकनृत्य प्रतियोगितामा उत्कृष्ट ठहरिएका कोरियोग्राफरहरूलाई सम्मान गरिनेछ भने नेपाली चलचित्र तथा म्युजिक भिडियो क्षेत्रमा सक्रिय एक–एक जना कोरियोग्राफरलाई पनि सिफारिसका आधारमा सम्मान प्रदान गरिनेछ।

    SEE Dance Championship मार्फत नृत्यलाई मनोरञ्जनको माध्यम मात्र नभई औपचारिक शिक्षा, सामाजिक सद्भाव, सांस्कृतिक जागरण र करियर निर्माणको अवसरका रूपमा स्थापित गर्ने कार्यमा उल्लेखनीय योगदान पु-याइँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs