
वीरगंज – जनमत पार्टी बीरगन्ज महानगर समितिको विस्तारित बैठक आज सम्पन्न भएको छ। बीरगन्जस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले पार्टी अध्यक्ष डा. सिके राउतको उपस्थितिमा हुन लागेको कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ।
जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार यही वैशाख २७ गते विभिन्न स्थानमा आयोजना गरिने कार्यक्रमहरू शान्तिपूर्ण र व्यवस्थित ढंगले सञ्चालन गर्ने निर्णय बैठकबाट भएको छ। बैठकले वैशाखको अन्तिम सातामा जिल्लाका विभिन्न पालिकामा गरिने कार्यक्रमहरूको व्यवस्थापन र तयारीबारे पनि सामूहिक छलफल गरेको छ।
जनमत पार्टी हाल गाउँगाउँ पुगेर जनताको समस्या सुन्ने रणनीतिमा अघि बढिरहेको छ। सोही अनुसार जनमत पर्साले स्थानीय स्तरका समस्या उच्च तहमा पु¥याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिरहेको सर्राफले बताए।
बैठकमा निर्णय भएअनुसार अध्यक्ष डा. राउतले वीरगन्जमा आमसभालाई सम्बोधन गर्नुका साथै जिल्ला तहका नेता, कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यतालिका रहेको छ।
महानगर अध्यक्ष महादेव शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य रम्भा मिश्र, अनुराग द्विवेदी, अनिता रौनियार, नजमा खातुनसहित ३२ वटै वडाका एकाइ अध्यक्षहरूको उपस्थिति रहेको थियो।