मेरो आँखाले देखेको देश: सपना होइन, संकल्पको आकृति

  • कालिका खवर
  • बुधबार, बैशाख २४, २०८२
  • हरि शरण जमकटेल,  धादिङ । हामी प्रायः देशको कुरा गर्दा गुनासो गर्छौं, राजनीति बिग्रिएको छ, शासन असक्षम छ, न्याय किनिन्छ, युवा पलायन छन्, किसान बेखबर छन्। तर यथार्थ भने यही हो कि देश केवल व्यवस्था होइन, देश हामी हौं, तपाईं, म, हामी सबै। जब हामी आफ्नो आँखा खोल्छौं, तब देखिन्छ एउटा यस्तो देश, जुन आजभन्दा फरक छ। त्यो देश वर्तमानमा होइन, भविष्यमा जन्मिन्छ—हाम्रो सोच, चाहना र संकल्पको गर्भबाट।

    मेरो आँखाले देखेको देश कुनै काल्पनिक अवधारणा होइन, न त केवल साहित्यिक सौन्दर्यका लागि रचिएको शब्दहरूको भावनात्मक उन्माद। यो त एउटा गहिरो अनुभूति हो। हामिले भोगिरहेको यथार्थको समग्र अभिव्यक्ति हो—एक यस्तो सपना, जुन मैले खुलेर बाँचेको छु; जुन मेरो हरेक सोच, मिहिनेत र समर्पणसँग गाँसिएको छ। मेरो दृष्टिमा देश भनेको केवल नक्शा होइन, त्यो जनताको मन, संस्कार, संघर्ष र सम्भावनाको समष्टि हो। जहाँ बिहान सूर्यको किरणसँगै आशाले पनि उज्यालो आउछ। प्रत्येक दिन नयाँ सुरुवातको प्रतीक हो—जहाँ नागरिकको अनुहारमा निराशा होइन, उत्साह देखिन्छ।
    त्यहाँ उज्यालोको अर्थ हुन्छ सम्भावना, उर्जा, र नयाँ सुरूवात। जब देशका नागरिकको मनमा ‘आज के नयाँ गर्न सकिन्छ?’ भन्ने जिज्ञासा पलाउँछ, त्यतिखेर त्यो देश साँच्चिकै बाँच्न थाल्छ।

    मैले देखेको देशको शिक्षा प्रणाली अंक र प्रमाणपत्रमा सीमित छैन। त्यो सोच र सिर्जनात्मकतामा आधारित छ। विद्यार्थीहरू परीक्षा पास गर्नका लागि मात्र होइन, जीवनका गहिरा प्रश्नहरू बुझ्न सक्षम बन्ने किसिमको शिक्षा प्रणालीमा हुर्कन्छन्। यहाँ शिक्षालयहरू केवल किताब पढाउने होइन, जीवन बुझाउने पाठशाला हुन्छन्। शिक्षा त्यो शक्ति हो जसले वर्ग, जात, भूगोल वा अवस्थाभन्दा माथि उठेर सबल राष्ट्र निर्माण गर्न सक्दछ।

    स्वास्थ्यलाई मैले देखेको देशमा पैसाले होइन, अधिकारको रूपमा बुझिन्छ। अस्पतालहरू सेवाको स्थल हो, व्यापारको केन्द्र होइन। बिरामी आमा बाबु उपचारको लागि घर जमिन बेच्न बाध्य हुँदैनन्। नागरिकले सजिलै, सम्मानसहित गुणस्तरीय उपचार पाउँछन्। स्वास्थ्यसेवा मानवताको साँचो नाप हो जहाँ संवेदना, सहजता र समानता मिसिएको हुन्छ।

    युवाहरू मेरो देशको मेरुदण्ड हुन्। मैले देखेको देशमा उनीहरू विदेश पलायन हुने बाध्यतामा छैनन्। उनीहरूको सीप, सपना र श्रम आफ्नै गाउँमा खन्यिन्छ। गाउँमै उद्यम, रोजगारी र अवसरहरू छन्। आत्मनिर्भरता केवल शब्द होइन, युवाको अभ्यास हो। जब एक युवा गाउँमै बसेर भविष्य बनाउँछ, त्यो केवल उसको जित होइन, देशको जित हो।

    मैले देखेको देशमा स्वाभिमान हरेक नागरिकको हृदयमा बस्छ। यहाँ नागरिक झुकेर होइन, उभिएर बाँच्न सक्छन। देशप्रेम केवल नारामा सीमित छैन, त्यो व्यवहारमा झल्किन्छ। राष्ट्रघात गर्नु लाजको विषय हो, र देशका लागि समर्पण गर्वको। देशप्रेम कुनै राजनीतिक पहिचान होइन, नागरिक कर्तव्य हो।

    न्यायप्रणाली स्वतन्त्र, निष्पक्ष र सबैको पहुँचमा हुन्छ। धनी, शक्तिशाली वा पहुँचवालाको मात्र होइन, गरिब र असहायको पनि भरोसा न्यायप्रणालीमा हुन्छ। यहाँ सिफारिसको होइन, प्रमाणको बलमा निर्णय हुन्छ। कानुनको ढोका हरेक नागरिकको लागि खुला हुन्छ र न्याय प्राप्ति कुनै विशेषाधिकार होइन, समान अधिकार हुन्छ।

    पत्रकारिता सत्यको लागि समर्पित हुन्छ। कलम सत्ताको नोकरी होइन, जनताको आवाज हो। यहाँ पत्रकारिता चेतना जगाउने माध्यम हो, जनताको सवाल बोल्ने साहस हो। सनसनीपुर्ण हेडलाइनभन्दा बढी जिम्मेवारीपूर्ण तथ्य र विश्लेषण प्रधान हुन्छ। मिडिया लोकतन्त्रको चौथो अंग होइन, नागरिक चेतनाको पहिलो आवाज हो।

    प्रहरी व्यवस्थाप्रति जनताको विश्वासको प्रतीक हुन्छ। युनिफर्म हेर्दा डर लाग्दैन, सुरक्षाको अनुभूति हुन्छ। प्रहरी जनताको सेवक हो, र उसले न्यायको पक्ष लिन्छ। उसको बोलीमा सम्मान र बोझ नभएको सहारा हुन्छ। यस्तो समाजमा प्रहरी र नागरिकबीचको सम्बन्ध शासक–शासितको होइन, साथी–साथीको जस्तो हुन्छ।

    राष्ट्रियता केवल झन्डा फेर्ने वा गीत गाउनेमा सीमित छैन। त्यो हाम्रो व्यवहारमा, नीतिमा, सोचमा र काममा झल्कन्छ। “देश पहिलो” भन्ने भावना केवल भाषणमा होइन, निर्णयमा देखिन्छ। नागरिकले आफ्नो सानो क्रियाकलापमा पनि देशलाई अगाडि राख्छ।

    कृषि मैले देखेको देशमा प्राथमिकता हो। किसान भोकै मर्नु पर्ने अवस्था हुँदैन। उसको पसिनाको मूल्य बजारले निर्धारण गर्छ, दलालले होइन। प्रविधि, वित्तीय सुविधा, सम्मान र सुरक्षित बजार किसानको साथमा हुन्छ। किसान आत्मनिर्भर छ, अनि उसले देशलाई पनि आत्मनिर्भर बनाउँछ।

    समृद्धि मेरो देशमा केवल केही वर्ग, सहर वा विशेष समूहको लागि सीमित हुँदैन। समृद्धि गाउँको ॲागन, पाखा-बारि, टोलको गल्ली, बस्तीको छाना र खेतको गरा सम्म फैलिएको हुन्छ। जब हरेक घरमा आशा, सम्मान र अवसर पाईन्छ, अनि मात्र त्यो देशलाई समृद्ध भनिन्छ।

    यसैले, मेरो आँखाले देखेको देश केवल सपना होइन—यो हाम्रो साझा चाहना, प्रयास र संकल्पको प्रतिबिम्ब हो। अब परिवर्तनको बाटो अरू कसैले खोलिदिन्छन् भन्ने प्रतीक्षा होइन; हामी आफैंले त्यो ढोका खोल्नुपर्ने बेला आइसकेको छ। देश बनाउने अभियानमा अब शब्द होइन, संकल्प आवश्यक छ। हामी बदलियौं भने मात्र देश बदलिन्छ। त्यसैले, आउनुहोस्, हामी सबै मिलेर त्यो देश बनाऔं—जहाँ हरेक नागरिकको मुहारमा उज्यालो, मनमा भरोसा, र कर्ममा देशप्रेम झल्कन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs