
हरि शरण जमकटेल, धादिङ । जहाँ युद्धको तयारी हुन्छ, त्यहाँ बन्दुक लोड गरिन्छ, बारुद जमिन्छ, र झन्डा फहराउने सपना देखिन्छ। तर ती झन्डाहरूको रङ् कहिल्यै उज्यालो हुँदैन—त्यो सधैं रगतको रातो र आँसुले माटोमा लिप्त हुन्छ। युद्ध कहिल्यै विजयको उत्सव होइन, त्यो त एक साझा शोक हो—जहाँ दुश्मन र आफ्ना छुटिन्नन्, जहाँ सिपाहीको लास मात्र गनिन्छ, मान्छेको सपना होइन।
जब कुनै देश युद्धको बाटो लिन्छ, त्यहाँ निर्णयहरू डेस्कमा लिइन्छन्, तर त्यसको परिणाम भुइँमा बग्ने रगत, जल्ने गाउँ, अनाथ भएका बच्चा र एक्लिएका बुढा-बुढीका आँखामा देखिन्छ। युद्धको हरेक निर्णयले केही छाती चिर्छ, केही मुटु भत्काउँछ, र केही घर सधैंका लागि सुनसान बनाउँछ। त्यो पीडा कुनै धर्म, जात वा राष्ट्रको विशेष होइन—त्यो त सबैको साझा पीडा हो। त्यहाँ हिन्दु , ईसाई वा मुसलमान मर्दैनन्, गोरा वा कालो मर्दैनन्, भुगोलले दिएको यो वा त्यो नाम को सिपाहि मर्दैन—त्यहाँ केवल मान्छे मर्छन्, मानवता मर्छ।
हामी यति धेरै विभाजित भयौं कि अब हामी पीडा पनि छुट्याउन थालिसकेका छौं—‘उ हाम्रो मान्छे हैन, उसले गुमाएको आँसु हामीलाई के सरोकार?’ तर मानवताको सबैभन्दा ठूलो संकट त्यतिबेला आउँछ, जब हामी अरूको पीडालाई अजनबी ठान्न थाल्छौं। जब एउटी आमाको चिच्याहटले हामीलाई छोएन भने, जब एक बालकको लासलाई हेरेर पनि हामी राष्ट्रभक्तिको भाषण गर्न थाल्छौं भने—त्यो नै सबैभन्दा ठूलो हिंसा हो। त्यस्तो हिंसाले केवल बारुद पड्कदैन, त्ययले मान्छेभित्रको संवेदना जलाउँछ।
नेपाल, जसले बुद्धजस्तो शान्तिदूत जन्माएको छ, जसको इतिहासले आफैँ युद्ध र द्वन्द्वको पीडा भोगेको छ—हामी आज फेरि त्यसै पीडाको पुनरावृत्ति हेर्न चाहँदैनौं। हामी चाहन्छौं, मान्छे बाँचून्; र तिनका सपनाहरूले सास फेरून्। हामी चाहन्छौं, सीमापारका शत्रु होइन, सीमाभित्रका सन्तान बाँचून्। किनकि जब युद्ध सकिन्छ, तब सम्झौता हुन्छ—तर मरेका सिपाही फर्कदैनन्, अनाथ भएका बच्चाहरूको बाबु आउँदैन। सम्झौतापत्रमा हस्ताक्षर हुने ठाउँमा कहिल्यै जनताको आँसु सूचीकृत हुँदैन।
शान्तिको कुरा गर्नु कमजोरी होइन। त्यो साहस हो—द्वेषको बीच संवाद गर्ने, घृणाको बीच माया बाँड्ने, प्रतिशोधको बीच क्षमाको बीज रोप्ने साहस। हामीले बुझ्नुपर्छ—एक जनाको हत्या सायद युद्धमा ‘रणनीति’ होला, तर त्यो हत्याको पीडा कसैको लागि सिङ्गो संसारको अन्त्य हुन सक्छ। जब एक सैनिक मर्छ, त्यो केवल एक वर्दी नभइ उसको आमाको काख, श्रीमतीको संसार, र छोराछोरीको भविष्य पनि मर्छ।
युद्धका विजयहरू देशको नक्सामा देखिए पनि जनताको अनुहारमा कहिल्यै देखिँदैनन्। त्यहाँ देखिन्छ केवल बुढो बुबाको टोलाउँदो अनुहार, बालकको खालि पेट, र आमाको गहभरि आँसु। हामी युद्ध चिताएर ‘देशको नाम राख्ने’ कुरा गर्छौं, तर यस्ता नामले सधैं जनताको पीडालाई काजल लगाउँदैन।
आज भारत–पाकिस्तानबीच फेरि तनाव बढ्दैछ। हामी छिमेकी हौं, साक्षी हौं, अनि सबैभन्दा महत्वपूर्ण—मानव हौं। त्यसैले हामीले भन्नैपर्छ—हामी युद्धको विपक्षमा छौं। युद्ध हाम्रो साझा भविष्य होइन्। युद्ध केवल दलाल र सत्ताका लागि नाफा हो, जनताको लागि सधैं घाटा मात्र हो।
हामी नेपाली सधैं शान्तिका पक्षमा उभिनेछौं। किनभने हामीले अनुभूत गरेका छौं—हिंसाले बाँच्छ केवल अहंकार, जबकि मर्छ– माया, विश्वास, र भविष्य। हामीले बुझेकाछौं, साँचो राष्ट्रभक्ति भनेको सिपाहीलाई सजीव फर्काउने सपना हो, न कि उनको चिहानमा झन्डा गाड्ने गौरव। त्यसैले हाम्रो स्वर यो हो—हामी युद्ध चाहँदैनौं। हामी शान्ति चाहन्छौं। हामी मानवताको पक्षमा छौं।
जसरी फूलको गन्ध धर्म चिन्दैन, वर्षाको बूँदले सिमाना हेर्दैन, त्यसैगरी मान्छेको पीडाले पनि झन्डा चिन्दैन। तसर्थ, युद्ध जहाँसुकै होस्, पीडा सबैका साझा हुन्छन्। त्यसैले आज, हामी सबैले—नारी, पुरुष, वृद्ध, युवा, विद्यार्थी, किसान—एक स्वरमा भन्नुपर्छ:
“शान्ति नै मानवताको साँच्चो विजय हो।”
युद्ध होइन, संवाद। घृणा होइन, सहिष्णुता।
रगत होइन, मायाको पानी बहाऊँ।
त्यो पानी जसले हाम्रो साझा घर—यो संसार—फूल फुलाओस्, आगो होइन।