हैदराबादमा गुलजार हाउसमा लाग्यो आगो, १७ को मृत्यु

  • कालिका खवर
  • आइतवार, जेष्ठ ५, २०८२
  • नयाँ दिल्ली । आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसमा आगलागी भएको छ । दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । मर्नेमा केही बालबालिका पनि भएको बताइएको छ । भवनबाट १० देखि १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । केही मानिसहरू अझै पनि घरभित्रै फसेको र उद्धार कार्य जारी रहेको खबर आएको छ ।

    आगलागीको कारण शर्ट सर्किट भएको बताइएको छ । तर यसको आधिकारिक रूपमा पुष्टि भएको छैन । बिहान करिब ६ः३० बजे आगलागीबारे दमकल विभागलाई जानकारी गराइएको थियो । त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए र लगभग १० जनालाई अस्पताल भर्ना गरिएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

    मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउन निर्देशन दिएका छन् । सोही समयमा, केन्द्रीय मन्त्री जी. किशन रेड्डी र एआईएमआईएमका विधायक मुमताज अहमद खान घटनास्थलमा पुगेर स्थितिको जानकारी लिएका थिए । प्रधानमन्त्री मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    ‘हैदराबाद आगलागी घटनामा मृत्युको खबरले गहिरो दुःखमा छु । आफ्ना प्रियजन गुमाएकाहरूप्रति समवेदना । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना ।’ पीएमओले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेको छ । प्रधानमन्त्री राहत कोष बाट मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ५०,००० रुपैयाँ दिइने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs