वीरगञ्जमा सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा ट्रामाडोल ट्याब्लेट बरामद

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ७, २०८२
  • वीरगञ्ज, ६ जेठ। सशस्त्र प्रहरी बल नेपालले वीरगञ्ज नजिकैको भकुवा नाकाबाट ठूलो मात्रामा प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट बरामद गरेको छ। भारतबाट तस्करी गरी ल्याइँदै गरेको ८१ हजार ४९० पिस ट्रामाडोल ट्याब्लेट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

    सशस्त्र प्रहरीका अनुसार बरामद ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ।

    भारतको रक्सौलबाट छपकैयाको भकुवा नाका हुँदै लागू औषध नेपाल भित्र्याउने सूचना मंगलबार बिहानै सशस्त्र प्रहरीलाई प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

    टोली भकुवा नाकास्थित सिर्सिया नदी नजिकै पुग्दा दुई जना तस्कर टाउकोमा लागू औषधले भरिएका कार्टुन बोकेर नेपालतर्फ आउँदै थिए। प्रहरी देखेपछि उनीहरूले कार्टुन फ्याँकेर नदीपारतर्फ फरार भएको डीएसपी सिंहले जानकारी दिए।

    प्रहरी टोलीले फ्याँकिएको कार्टुन खोलेर हेर्दा त्यसभित्र ८१ हजार ४९० पिस ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट फेला परेको थियो। बरामद लागू औषध आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

    तस्करहरुको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs