हरिनास गाउँपालिकाको ७औँ अध्यक्ष कप २०८२ भव्य रूपमा सम्पन्न

  • कालिका खवर
  • बुधबार, जेष्ठ ८, २०८२
  • स्याङ्जा । हरिनास गाउँपालिकाद्वारा आयोजित ७औँ अध्यक्ष कप २०८२ को समापन कार्यक्रम जेठ ६ गते सम्पन्न भएको छ। पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय खगराज अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा स्तरीय पुरुष, महिला, भेट्रान्स भलिबल तथा ब्याडमिन्टन प्रतियोगिताहरू समावेश गरिएका थिए। प्रतियोगितामा गाउँपालिकाभरिका विभिन्न वडाबाट उत्साहजनक सहभागिता रहेको थियो।

    समापन समारोहमा प्रमुख अतिथि अधिकारीले खेलकुदले युवाहरूलाई अनुशासित, आत्मनिर्भर र राष्ट्रप्रेमी बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताहरू गाउँगाउँमा नियमित रूपमा आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले स्थानीय स्तरमै खेल प्रतिभाको पहिचान तथा विकास हुन सक्ने बताए, जसले दीर्घकालीन रूपमा राष्ट्रिय खेलकुदलाई बलियो आधार दिन सक्छ।

    गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्री, दर्शक र आयोजक टोलिलाई धन्यवाद दिँदै आगामी दिनमा अझ व्यवस्थित र भव्य प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे। उनले अध्यक्ष कपले सहकार्य, प्रतिस्पर्धा र आपसी समझदारीको भावना मजबुत बनाएको उल्लेख गरे।

    प्रतियोगिताको परिणाम अनुसार पुरुष भलिबलतर्फ वडा नं ६ प्रथम, वडा नं १ द्वितीय, वडा नं ५ तृतीय र वडा नं ३ सान्त्वना स्थानमा रहे। महिला भलिबलमा वडा नं ५ प्रथम, वडा नं ४ द्वितीय, वडा नं ३ तृतीय र वडा नं ७ सान्त्वना स्थानमा परे। भेट्रान्स भलिबलमा वडा नं ४ ले प्रथम स्थान हासिल गर्दा, वडा नं ७ द्वितीय, वडा नं २ तृतीय र वडा नं १ सान्त्वना स्थानमा रहे। ब्याडमिन्टनतर्फ वडा नं ७ प्रथम, वडा नं ६ द्वितीय, वडा नं ३ तृतीय र वडा नं ५ सान्त्वना स्थानमा रहे।

    विजयी वडाहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो। प्रतियोगिताले गाउँपालिकाको खेलकुद विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सहभागी वडाहरूले आगामी संस्करणमा अझ उत्कृष्ट तयारीका साथ सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

    कार्यक्रमका तस्विरहरु

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs