
इलाम । चलचित्र विकास बोर्डको आयोजनामा, इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित “बाल चलचित्र महोत्सव, इलाम” जेठ ५ देखि विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सिनेमा, शिक्षा र पर्यटनलाई एकत्रित गर्दै इलामलाई सम्भावनायुक्त चलचित्र गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजित यस महोत्सवले स्थानीय स्तरमा सृजनशीलता अभिवृद्धि, सिनेमा चेतनाको विकास र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको छ।
महोत्सव अन्तर्गत बाल चलचित्र निर्माण कार्यशालाबाट ३७ जना विद्यार्थीलाई लेखन, निर्देशन र अभिनयको व्यावहारिक प्रशिक्षण दिइएको थियो। बद्री अधिकारीको निर्देशनमा उनीहरूको सहभागितामा निर्माण भएको लघु चलचित्र “हजार सपनाहरू” को प्रभावशाली प्रदर्शनले बालबालिकाको आत्मविश्वास र प्रतिभालाई उजागर गर्यो। सिनेमा साक्षरताको सन्देश बोकेर घुम्ती सिनेमा कार्यक्रम इलाम बजार र श्रीअन्तुका विद्यालयहरूमा सञ्चालन गरियो, जहाँ सर्वसाधारणदेखि विद्यार्थी, अभिभावकसम्मको उत्साहजनक सहभागिता देखिएको थियो। विशेष आकर्षणका रूपमा इलामकी चर्चित फुटबलर एन्जिला तुम्बापोको जीवनीमा आधारित चलचित्र “एन्जिला” एलईडि स्क्रिनमार्फत सार्वजनिक स्थलमा देखाइएको थियो।
गौतम बुद्ध हलमा आयोजित बाल चलचित्र प्रदर्शनीमा “शिलावाला”, “घुर्रा”, “द स्कुल वाल” र “पाउलो” जस्ता सन्देशमूलक चलचित्रहरू प्रस्तुत गरिए। सेलिब्रेटीसँग बालबालिका अन्तरक्रियामा राष्ट्रिय स्तरका चर्चित कलाकारहरू — बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, लन चाम्स, दिनेश डिसी, जनकदिप पराजुली आदिले बालबालिकासँग खुला संवाद गरी प्रेरणामूलक सन्देश प्रवाह गरे।
शुक्रवार इलाम नगरपालिकाको सभाहलमा सम्पन्न समापन समारोहमा मेयर केदार थापा, उप–मेयर विष्णु कुमारी लिम्बु, वडाध्यक्षहरू, विद्यालयका प्रतिनिधिहरू तथा प्रतिष्ठित कलाकारहरूको उल्लेखनीय उपस्थिति थियो। समापन समारोहमा मेयर थापाले इलामको प्राकृतिक र सांस्कृतिक सुन्दरतालाई चलचित्रमार्फत देश–विदेशमा चिनाउन यस्ता महोत्सवहरू अत्यन्त प्रभावकारी हुने बताएका थिए। अध्यक्ष दिनेश डिसीले महोत्सवले सिर्जना, शिक्षा र पर्यटनलाई एकैसाथ जोड्ने उदाहरण प्रस्तुत गरेको र कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
चलचित्र छायांकनको सन्देश प्रवाह गर्नका लागि सेलीब्रेटीहरूले “चलचित्र छायांकनको लागि इलाम” लेखिएको टिसर्ट लगाएर इलामको भ्रमण गरेका थिए, जसले इलामलाई छायांकनको उपयुक्त गन्तव्यको रूपमा प्रचार गर्न थप सघाएको छ। इलाम नगरपालिकामा निर्माणाधीन दुई चलचित्र घरको प्रवर्द्धनमा पनि महोत्सवले सकारात्मक प्रभाव पारेको विश्वास गरिएको छ। यसरी, बाल चलचित्र महोत्सवले सिर्जनात्मक क्षमता विकास, सिनेमा संस्कृति विस्तार र पर्यटन प्रवर्द्धनमार्फत इलामको समग्र पहिचानलाई सशक्त बनाउने कार्यमा महत्त्वपूर्ण कोसेढुंगा थपेको छ।