
जेठ १८ गते आइतबार
तिम्रो पनि मन होला खुशी संसार हेर्न
आमा तिम्रो सक्या छैन फाट्या चोली फेर्न
हे…. मेरी आमा
नरुनु हैं धर्केर, हाम्रा हास्ने दिनहरु आउलान फर्केर …
माथिको पंक्तीहरु गायक घनश्याम खत्रीको सुमधुर आवाजमा सजिएर झन्डै एक हप्ता अघि सार्वजनिक भएको ‘आमा’ गीतबाट साभार गरिएको हो ।
एउटी आमाको दुःखलाई खुशीमा परिणत गर्ने सन्तानको रहरलाई गीतमा प्रस्तुत गरिएको छ । गीत सार्वजनिक भएको एक हप्ता पुग्नै लाग्दा जे जति भ्यूअर्स पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । तथापि गीतले हरेक नेपाली युवाहरुको रहरलाई टपक्क टिपेको छ । मदन ढकालले लेखेको गीतको दोश्रो अंशले एउटी आमाले सन्तानलाई हसाउन आफूले हाँस्न बिर्सेको प्रसंगलाई जोडिएको छ । आमा सम्बोधित गीतका यो अंशमा पुग्दा मन चसक्क हुन्छ । प्रायः सबै नेपाली आमाहरुको यथार्थ यहाँ प्रस्तुत गरिएको छ । गीतमा भनिएको छ –
‘विहान बेल्का चुल्हो बाल्न मेलापात डुल्यौं
मेरो हाँसो खोज्दै हिड्यौं आफै हाँस्न भुल्यौ’
हे…. मेरी आमा
गीतको तेश्रो अंशमा सन्तानको कर्तव्यलाई प्रस्तुत गरेका छन् । आमाकै खुशी खोजदै संघर्षको मैदानमा उत्रिने आम छोराहरुको गाथालाई यसमा जोडिएको छ । आमाप्रतिको कर्तव्यबोध गराउने यो पंक्तीले पनि दर्शकलाई मर्माहत बनाउछ ।
गीतमा भनिएको छ :
तिम्लाई क्यारी खुशी बनाम तिम्रै बारे सोच्दै
संघर्षको मैदानमा छु सफलता खोज्दै
हे…. मेरी आमा
‘आमा’ गीतको अर्को सकारात्मक पाटो गीतमा निराशा र आदर्शमात्र छाटिएको छैन । आशालाई पनि समावेश गरिएको छ । अध्यारो पछि अवश्य उज्यालो आउछ, संघर्षबाट सफलताको मुख देख्न पाइने विश्वास गीतमा गरिएको छ ।
घनश्यामले अर्को अंशमा गाउछन् :
आउछ आमा हाम्रो पालो हास्दै हास्दै हिन्नी
गोजीभरी पैसा लानी झोलाभरी किन्नी
हे…. मेरी आमा
आमा महान हुन । सन्तानको खुट्टामा धुलो लाग्ला कि भनेर आफू घण्टै धुलो र मैलोमा हिड्छन् । आमाको महिमा अपरम्पार छ । भगवानको अर्को रुप आमाको यथार्थलाई गीतमा बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ । त्यही आमाको कर्तव्यको भारी छोड्ने दिन नआउदा सन्तानको पीडा पनि यही गीतमा व्यक्त हुन्छ ।
मेरै लागि खाली गोडा घण्टैसम्म हिनी
पाउपा धुलो लाग्ला भनि ल्याउथ्यौं चप्पल किनी
कहिल्यै पनि छोड्न पाइनौं कर्तव्यको भारी
मेरा रहर पूरा गर्यौं, आफ्ना रहर मारी
हे…. मेरी आमा
गीतको अन्त्यमा
मुख थुन्नु छ गाउँको आमा, ऋण तिर्नु छ साहुका
घर बनाउला एउटा सानो ओत लगाउला टाउको
हे…. मेरी आमा
हुर्किउदै जाँदा सन्तान आमाको सपना भन्दा ठूलो सन्तानको अर्को संसार हुँदैन । आमाले भोगेका, आमाले बिताएका विगतलाई सुखमा बदल्ने सपना र साहष एउटा सन्तानले लिनु पर्छ । गीतको चलदृश्यमा गायक घनश्याम खत्री आफैले अभिनय गरेका छन् । गीतको चलदृश्यमा आमाका संघर्षका कथाहरु, सन्तानले देखेका सपना र आशाहरु जोड्दै साहुको ऋण तिर्ने, घर बनाउने र ओत लगाउने सपना बोक्दै परदेश लागेको दृश्यले नेपाली युवाहरुको यथार्थलाई व्यक्त गरेको छ ।
अनमोल बस्नेतले संगीत संयोजन गरेको गीतको लय गायक खत्री आफैले सिर्जना गरेका हुन भने मरुभूमि नारायणले खिचेको गीतको चलदृश्यको निर्देशन गीतकार ढकालले गरेका छन् ।
गायक खत्रीका दशै र तिहारमा, छैन सोचे झैं (गुल्मेली हुम कर), नाच बरिलै (तीज गीत), पिपल पाते ओठ, जोडी मजुरलगायतका गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् भने जोडी मजुर सर्वाधिक चर्चामा समेत रहेको थियो ।
– प्रकाश समीर