नगर विकासमा मिडियाको साथ अपरिहार्य : प्रमुख महर्जन

  • कालिका खवर
  • सोमवार, जेष्ठ २७, २०८२
  • तारकेश्वर, काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै “सञ्चारकर्मी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम” सम्पन्न भएको छ। “संवादमार्फत सहकार्य : स्थानीय सरकार र मिडियाको सशक्त सहयात्रा” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रेस काउन्सिल नेपालका सदस्य एवं मुख्य प्रशिक्षक शन्तराम बिडारी, साथै स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनले सञ्चारकर्मीहरूको भुमिका स्थानीय शासन प्रणालीमा निर्णायक रहेको उल्लेख गर्दै भने, “स्थानीय सरकार जनताको नजिकको सरकार हो, र मिडिया जनताको आवाज। यी दुईबीचको सहकार्यले मात्र पारदर्शी र उत्तरदायी शासनको आधार तयार हुन्छ।” उनले अझ थपे, “तारकेश्वर नगरपालिका पत्रकारप्रति सकारात्मक छ र तथ्यमा आधारित पत्रकारिताको सदैव कदर गर्छ। नगरपालिकाले प्रेस स्वतन्त्रताको सम्मान गर्दै संचारमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध छ।”

    उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले सञ्चारकर्मीहरू नगरपालिकाको आँखा, कान र मुख भएको उल्लेख गर्दै भनिन्, “जनताको समस्या, गुनासा, अपेक्षा र सुझाव संचारमार्फत हामीसम्म आइपुग्छ। त्यसैले पत्रकारसँगको सम्बन्ध बलियो बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुन्छन्।”

    प्रशिक्षक शन्तराम बिडारीले सञ्चारकर्मीहरूको पेशागत आचारसंहिता, उत्तरदायित्व, तथ्य जाँच, र समावेशी पत्रकारितामाथि विशेष प्रशिक्षण दिएका थिए। उनले भने, “स्थानीय पत्रकारिताको गुणस्तर सुधार गर्दा समग्र लोकतन्त्र बलियो हुन्छ। प्रेस काउन्सिल नेपाल पत्रकारको अधिकारसँगै कर्तव्यमा पनि जोड दिन चाहन्छ।”

    कार्यक्रममा सहभागी पत्रकारहरूले स्थानीय सरकार र मिडियाबीचको दूरी कम गर्ने, सूचनाको सहज पहुँच सुनिश्चित गर्ने र आपसी सहकार्य बढाउने खालका माग तथा सुझावहरू प्रस्तुत गरेका थिए।

    कार्यक्रम अन्त्यमा नगरपालिकाले सञ्चारकर्मीहरूको सशक्त भूमिकाको सम्मान गर्दै भविष्यमा अझ गहन सहकार्यका लागि तत्पर रहने घोषणा गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs