सार्वजनिक पाेखरी मिचेर बनाइएकाे छाया कम्प्लेक्स भत्काउनु बालेनलाई सुवालको चुनौती

  • कालिका खवर
  • सोमवार, भदौ १३, २०७९
  • सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पाेखरी मिचेर बनाइएकाे व्यापारिक भवन छाया कम्प्लेक्स भत्काउन आवश्यक रहेकाे बताउनुभएकाे छ । आज साेमवार प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

    भारतको नाेयडामा नियम मिचेर बनाइएकाे गगनचुम्बी ट्विन टावरमा विस्फाेटक पदार्थ राखेर भत्काएकाे उदाहरण हिँदै उहाँले काठमाण्डाैकाे सार्वजनिक ठाउँ कमल पोखरीकाे जग्गा मिचेर बनाइएकाे छाया कम्प्लेस भत्काउनुपर्ने बताउनुभएकाे हाे ।

    यस्तै उहाँले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा तीन सय दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो । युद्धको समयमा समेत विद्यालय र विश्वविद्यालय सञ्चालन भएका देशहरू धेरै रहेको उहाँकाे भनाइ छ ।

    सांसद सुवालले चुनाव घोषणा भएपछि संसद् चलिरहने आचारसंहिताको उल्लङ्घन भएको गुनासो भएकाले तत्काल संसद् अन्त्य गर्न माग गर्नुभयो । उहाँले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गर्नुभयो ।

    सांसद दिव्यमणि राजभण्डारीले गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गर्नुभएको छ । राजभण्डारीले गोरखा सैनिकको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल माग पूरा गर्न माग गर्नुभएको हो । उहाँले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाइएको बताउनुभयो ।

    त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरूको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरूको जायज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताउनुभयो ।

    सांसद दुर्गाकुमारी विश्वकर्माले आउँदाे मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको चुनावमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले अहिले ४५ लाख नेपाली विदेशमा रहेका तर अहिलेसम्म चुनावमा मत दिने अधिकार नपाएका बताउनुभयो । सांसद विश्वकर्माले सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गर्नुभयो । उहाँले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने नागरिकले भोट दिन नपाएको अवस्था रहेको भन्दै उनीहरूलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गर्नुभयो ।

    त्यस्तै सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवर्द्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गर्नुभयो । उहाँले त्यस क्षेत्रमा १२ सय परिवार कफी खेतीमा संलग्न भएर युरोपमा कफी निर्यात गरिरहेका बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs