काठमाडौंका हेविवेट स्थापित मेयर उठेपछि, गठबन्धनमा त्रास सृजना

  • कालिका खवर
  • आइतवार, बैशाख ११, २०७९
  • नरेन्द्र चालिसे, काठमाडौं । काठमाडौं महानगर प्रमुखका लागि स्थापित सबैभन्दा हेविवेट उम्मेदवार मानिन्छन् । गठबन्धनको चुनौती चिर्न सक्ने सबैभन्दा बलिया मानिएका स्थापितले २०५४ सालमै काठमाडौं महानगर सम्हालिसकेका छन् ।

    को हुन् केशव स्थापित ?

    बागमती प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्री भइसकेका स्थापित यसअघि पनि २०५४ सालमा एक कार्यकाल काठमाडौंको प्रमुख बनेका थिए ।

    एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गएका थिए । २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए । तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए। केही समय काठमाडौं महानगरको मेयर मनोनित भएका थिए ।

    मनोनित मेयर भएकै बेला माओवादीलाई आश्रय दिएको थाहा पाएपछि उनलाई हटाइयो । यसबीचमा धेरै काण्ड भइरहँदा उनले नेपालको सबैभन्दा पुरानो पार्टी प्रजा परिषद पुनगर्ठित गरे । केही समयपछि त्यो बोर्ड पनि बन्द भयो । त्योबेला सेनाबाट बाँच्न आफूले पार्टी खोलेको दाबी उनले गरेका थिए ।

    ०६४ को संविधानसभा चुनावका बेला उनी खासै सक्रिय थिएनन् । यसबीचमा उनी माओवादीको नजिक गए । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला देश बनाउने भिजन मिलेको भन्दै उनलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख बनाइयो । तर, कामभन्दा गफ बढी गरेको र हिसिला यमीसँग कुरा नमिलेको भन्दै उनलाई बाबुरामले बर्खास्त गरे ।

    प्राधिकरण काण्डपछि स्थापितको माओवादीसँग मोह भंग भयो । आफूले एमाले नछाडेको भन्दै उनी ०७० को चुनावमा एकाएक काठमाडौं ६ बाट योगेश भट्टराईको ठाउँमा टिकटको दाबेदार बनेर निस्किए । एमालेबाट टिकट नपाएपछि उनी सोही क्षेत्रमा संघीय समाजवादी फोरमबाट उम्मेदवार बने र योगेशलाई चुनाव हराउन भूमिका खेले ।

    स्थापितले एक हजार मत ल्याए । तर, योगेश भट्टराईलाई हटाउन उनी कारक बनेको आरोप एमालेमा लाग्ने गरेको छ । तर, चुनाव हारेको केही समयमै उनी पुनः एमालेमा फर्किए । एमालेमा फर्काइँदा उनको ब्यापक बिरोध भएको थियो । तर, ओलीले उनलाई भित्र्याए ।

    स्थापित ०७४ सालको स्थानीय तहको चुनावमा पुनः काठमाडौंको मेयरको कडा दाबेदार बनेर उत्रिए । ओलीबाट पनि उनले सकारात्मक संकेत पाएका थिए । तर, काठमाडौं एमालेका तत्कालीन अध्यक्ष कृष्ण राई लगायत ओली पक्षधर नेताहरुले नै कुनै हालतमा स्थापितलाई स्वीकार नगर्ने भनेपछि ओली ब्याक भए ।

    तर त्यो बेला विद्यासुन्दर शाक्य उम्मेदवार बने। शाक्यलाई जिताउन उनी निकै खटेका थिए। त्यसकै परिणाम उनले २०७४ मंसिरमा भएको निर्वाचनमा प्रदेश सभाको टिकट पाए।

    उनी बागमती प्रदेशको भौतिक मन्त्री समेत बनेका थिए। मुख्यमन्त्री डोरमणि पौडेललाई गाली-गलौज र दुर्व्यवहार गरेपछि उनी २०७६ कात्तिकमा बर्खास्तगीमा परेका थिए। त्यही बेलामा उनलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। यद्यपि यसको कुनै छानबिन भएन।

    स्थापित नै किन?

    ठीक २५ वर्षपछि काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेले केशव स्थापितलाई उम्मेदवार बनाएको छ ।

    २०५४ सालमा एक कार्यकाल काठमाडौंको प्रमुख बनेका स्थापितको काठमाडौँ महानगरबासीकाबिच एक फरक छवि छ । उनले तत्कालीन अवस्थामा काठमाडौंको भौतिक पूर्वाधार सुधार र सुन्दरता बढाउन नवीन काम गरेको मानिन्छ । स्थापितको सार्वजनिक छवि राम्रो छ। मेयर हुँदा स्थापितले गरेको काम अहिले पनि देखिन्छ । र अहिलेसम्म पनि उनले

    गरेका कामको चर्चा हुन्छ ।

    काठमाडौंको मुहार फेर्ने उनका कदम अझै पनि धेरैको स्मरणबाट बाहिर छैनन् । काठमाडौं उपत्यकाका नदीहरुमा करिडोर खोल्ने, रत्नपार्क र माइतीघरका लगायतबाट घर टहरा हटाउने, सहरको बीचबाट अव्यवस्थित सुकुम्बासी बस्ती विस्थापन जस्ता काम उनै स्थापित मेयर भएका बेला भएका थिए । सडक फराकिलो बनाउने कुरामा स्थापित ‘पिता’ नै हुन्।

    काठमाडौंमा स्थापितको ‘क्रेज’ले गर्दा पनि यो पटकको स्थानिय निवार्चनमा गठबन्धनको चुनौती चिर्न सक्ने उनी सबैभन्दा बलिया मानिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs