लेते वरपरको मौसम निकै बिग्रियो, जहाज खोज्न समस्या छ : प्रहरी

  • कालिका खवर
  • आइतवार, जेष्ठ १५, २०७९
  • काठमाण्डौ – पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजको खोजी गर्न समस्या भएको छ । खराब मौसमका कारण जहाज खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार जहाजले अन्तिम पटक लेतेको डाँडाबाट जोमसोम विमानस्थलको टावरसँग सम्पर्क गरेको थियो । त्यसपछि सम्पर्क नभएकाले जहाज लेते वरपरका डाँडा र विशेषगरी लार्जुङ खोँचमा दुर्घटना भएको शङ्कामा प्रहरीले खोजी थालेको हो ।

    ‘लेते वरपरको मौसम निकै बिग्रिएको छ, हामीले जहाज दुर्घटना भएको शङ्का गरेका छौँ, त्यही वरपरकै मौसम पूरै धुम्म छ, हेलिकप्टर उडाउन सक्ने अवस्था छैन, त्यसैले समस्या भयो’, तामाङले उज्यालो अनलाइनसँग भन्नुभयो ।

    हेलिकप्टर उडाउन समस्या भए पनि मुस्ताङका प्रहरी, व्यवसायी, स्थानीयवासी पैदलै हिँडेर भए पनि खोजीको प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

    बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । जहाजमा चालक दलसहित २२ जना यात्रु रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs