भारतमा सैनिक भर्तीका लागि ल्याइएको ‘अग्निपथ’ योजनाको विरोध हिंसात्मक बन्दै

  • कालिका खवर
  • शुक्रबार, असार ३, २०७९
  • भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको तेस्रो दिन आज शुक्रवार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् ।

    आज बिहारमा नौ वटा रेलमा आगजनी भएको र रेलमा आगो लगाउँदा बिहारको लखीसरायमा एक जना यात्रुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशमा पनि हिंसात्मक प्रदर्शन भएको छ । हरियाणा, राजस्थान, उत्तराखण्ड, हिमाचाल प्रदेशलगायत ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

    नरेन्द्र मोदी नेतृत्वको सरकारले गएको मङ्गलवार भारतीय सेनामा भर्नाका लागि ‘अग्निपथ’ नामक योजनाको घोषणा गरेपछि युवाहरूले विरोध सुरु गरेका हुन् । अग्निपथ योजनामा भारत सरकारले आफ्नो तीन वटै सैन्य अङ्ग: जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष नोकरी अवधिका लागि मात्रै भर्ना खुलाउने छ । २१ वर्ष उमेर पुगेकाले भर्ना पाउने र २५ वर्ष पुग्दा तिनले अवकाश पाउनेछन् । भर्ना भएकामध्ये २५ प्रतिशतले चौथो वर्षमा सेनाभित्र स्थायी जागिरको अवसर पाउनेछन् । बाँकी ७५ प्रतिशत सेनाबाट बाहिरिनेछन् । अवकाशपछि उनीहरूले पेन्सन पाउने छैनन् ।

    सरकारले सेनामा धेरैभन्दा धेरै युवालाई रोजगारी दिने अवसरका लागि यो योजना ल्याएको बताएको छ । तर युवाहरूले भने अग्निपथ योजनाले सेनामा भर्नाका लागि तयारी गरिरहेकाहरूकाे सपना तोडिएको बताएका छन् । कुल सुरक्षा बजेटको २५ प्रतिशत हिस्सा अवकाश प्राप्त सैनिकको पेन्सनमा खर्च गर्दै आएको भारतले यो खर्च कम गर्न अग्निपथ योजना ल्याएको धेरैको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs