कृष्णाष्टमीमा मयूरको प्वाँखको अवैध व्यापार !

  • कालिका खवर
  • शनिबार, भदौ ४, २०७९
  • पाटनको कृष्णमन्दिरमा शुक्रवार दर्शन गर्न लाइनमा उभिरहनुभएकी कल्पना सुवेदीको हातमा धुपबत्ती र फूलसँगै मयूरको दुईवटा प्वाँख पनि थियो । ‘हामीले पहिलेदेखि नै कृष्णजीलाई चढाउने गरेका छौँ’ उहाँले भन्नुुभयो ।

    मयूरको प्वाँख वा अरु जनावरको रौँ, प्वाँख, हड्डी तथा छाला बोक्न र यसरी चढाउन मिल्दैन । तर यसबारेमा आफूलाई थाहा नभएको बताउँदै सुवेदी भन्नुहुन्छ, ‘यस बारेमा हामीलाई केही पनि थाहा छैन । पहिलेदेखि चढाएको भएर चढाउन हिँडेका हौँ । अरु त्यस्तो केही पनि थाहा छैन ।’

    कुनै पनि जीवजन्तु वा पशु पक्षीको अङ्ग वा प्वाँख आदि बेचबिखन वा ओसारपसार गर्नु गैरकानुनी हो । तर, कानुनले अवैध भने पनि कृष्ण अष्टमीको दिन कृष्ण मन्दिर परिसरमा मयूरको प्वाँख हातमा लिएर दर्शन गर्न लाइन बसेका भक्तजन अनि वरपर प्वाँख बेच्नेको भिड देख्दा यो कानुनमा बन्देज छैन कि जस्तो देखिन्थ्यो ।

    वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा काम गरिरहेको गैरसरकारी संस्था ग्रिनहुड नेपालले कृष्ण अष्टमीमा मयूरको प्वाँख बेचबिखन हुने सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा लेखेको छ, ‘कृष्ण जन्माष्टमीको समयमा मन्दिर वरपर मयूरको रङ्गीन प्वाँख किनबेच भइरेहेको देख्नुभयो होला । तपाईँले पनि किन्नु भयो कि ? तर, कानुनले मयूरको प्वाँख किनबेच वर्जित गरेको छ । ५ वर्ष जेल र १ लाख रुपयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ । सचेत बनौँ र वन्यजन्तु संरक्षणमा सहयोग गरौँ ।’

    तर, श्रीकृष्ण जन्माष्टमीमा भगवान कृष्णको दर्शन गर्न बसेका प्रायजसाे भक्तजनमा जीवजन्तु वा पशु पक्षीको अङ्ग वा प्वाँख आदि बेचबिखन वा ओसारपसार गर्नु गैरकानुनी हो भन्ने कुराको ज्ञान नभएको पाइयो ।

    ललितपुर इमाडोलबाट भगवान श्रीकृष्णको दर्शन गर्न आउनु भएकी पार्वती शर्माको हातमा पनि धुप, बत्ती अनि फूलसँगै मयूरको दुई वटा प्वाँख थियो । कृष्णजीलाई मयूरको प्वाँख चढाउँदा राम्रो हुन्छ भन्ने सुनेर चढाउन एउटा प्वाँख २० रुपैयाँमा किन्नु भएकी शर्मालाई पनि यसरी प्वाँखको कारोबार गैरकानुनी हो भन्ने कुरा थाहा छैन । उहाँ भन्नुहुन्छ, ‘हामीले त राम्रो हुन्छ भनेर चढाउन किनेको हो । गैरकानुनी हो भन्ने हामीलाई थाहा छैन । गैरकानुनी भए यत्रा प्रहरीका अगाडि बेच्न चाहिँ किन दिएको त ? बेच्नेलाई पनि कारबाही हुनुपर्यो नि ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs