यसअघि हारेकालाई एमालेले आउँदाे चुनावमा टिकट नदिने

  • कालिका खवर
  • शनिबार, भदौ ११, २०७९
  • नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा चुनावकाे लागि यसअघि हारेका उम्मेदवारलाई टिकट नदिने जनाएकाे छ । तर जनाधार भएका र चुनाव प्रयोजनलाई समेत ध्यानमा राखेर अन्य पार्टीबाट प्रवेश गराइएकाको हकमा विशेष निर्णय लिन उपयुक्त हुने एमालेले जनाएकाे छ ।

    एमालेले चुनावकाे लागि उम्मेदवारी यही भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन पनि दिइसकेकाे छ । शनिबार सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रिय कमिटीमा रहने गरी यस्ताे निर्देशन दिने निर्णय गरेको हो । सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार एक जना महिला अनिवार्य रहनेगरी दुवै निर्वाचनका लागि ३ जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ ।

    एमालेले उम्मेदवार छनौटको मापदण्ड पनि तय गरेको छ । पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार उठाउन सक्ने मापदण्ड तय गरिएको पनि प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताउनु भयो । एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारहरुले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भए भनेर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ ।

    ‘आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको सिफारिस प्रक्रिया र उम्मेदवारहरुको छनौटको मापदण्ड देहाय बमोजिम हुनेछ । जिल्ला सम्बन्धित क्षेत्रको क्षेत्रीय कमिटीले सम्बन्धित क्षेत्रको उम्मेदवार सिफारिस गर्ने । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने, प्रदेशसभा निर्वाचनको उम्मेदवार पनि त्यहीअनुसार सम्बन्धित निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गर्ने । गरिएको सिफारिसमा सम्बन्धित कमिटीको अन्य राय भए सो समेत उल्लेख गरेर सिफारिस गर्ने । सिफारिसमाथिको अन्तिम निर्णय केन्द्रले गर्ने । प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका, कम्तिमा एक जना महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्ने । स्मरणीय छ सिफारिस, सिफारिस मात्रै हो । अन्तिम निर्णय होइन । निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजस्तो व्यवहार गर्न मिल्दैन । समानुपातिकका लागि बन्दी सूचिको उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशीता र अवसरको न्यायोजित वितरणलाई समेत ध्यानमा राखि सम्बन्धित जिल्ला कमिटीको बैठकबाट सिफारिस गर्ने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs