गोरखा २ मा सबै दलको साझा उम्मेदवार बन्न चाहन्छु: बाबुराम भट्टराई

  • कालिका खवर
  • आइतवार, भदौ १९, २०७९
  • पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावमा आफू गोरखा क्षेत्र नम्बर २ मै उठ्ने बताएका छन्।

    भट्टराई नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडा लिएर चुनाव लड्ने तयारीमा छन्। उनले गोरखा २ मा सबै दलको साझा उम्मेदवार बन्न आफू चाहेको बताएका छन्।

    ‘गोरखा २ मा सबै दलको साझा उम्मेदवार बन्न चाहन्छु,’ उनले भनेका छन्, ‘गोरखाले ऐतिहासिक रूपमा पृथ्वीनारायण शाहको नेतृत्वमा भौगोलिक एकीकरण र लखन थापादेखि जनयुद्धको योगदानमा लोकतान्त्रिकरणको नेतृत्व गरेकाले अब समृद्धीकरणको मोडेलको रूपमा नेतृत्व गरोस् भन्ने चाहना छ। सबैबाट सहयोगको अपेक्षा।’

    गोरखामा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले यसअघि जसले जहाँ जितेको छ त्यो सिट उही दलले राख्ने गठबन्धनमा पनि छलफल भएकोले आफू गोरखा २ बाटै उठ्ने बताएका थिए।

    ‘निर्वाचन क्षेत्रहरूमा दल तथा व्यक्तिको दाबी त रहन्छ नै। तर गठबन्धन गरेर जाने हो भने मेरो बुझाइ जसले जहाँ जितेको हो त्यो ठाउँबाट फेरि उही दल वा नेता चुनाव लड्ने भन्ने हो,’ उनले भने।

    २०७४ सालमा भट्टराई गोरखा २ बाटै जितेका थिए। उनले सत्ता गठबन्धनमा छलफल गरेर चुनावी क्षेत्रबारे टुंगो लगाइने पनि बताएका थिए।

    गोरखा २ मा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिस भएको छ भने नेपाली कांग्रेसबाट सुरेन्द्र पाण्डेको एकल नाम मात्रै सिफारिस भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs