
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन् ।
मंगलबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराए ।
“तीव्र गतिका साथ अर्थतन्त्र माईनसमा गइरहेको छ । त्यसकारण अर्थतन्त्र संकटमा छ । देश संकटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ,” उनले भने ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा समेत औंल्याए ।
“पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो । असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन् । अर्थतन्त्रलाई सही बाटोमा फर्काउन सकिएन भने असफल राष्ट्र बन्ने खतरा हुन्छ,” उनले भने ।
ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौती गरेको पनि बताए ।