‘एक भगवत् गीता’ फिल्मको नाम ‘एक भागवत् र एक गीता’ राख्ने सहमति

  • कालिका खवर
  • सोमवार, भदौ २५, २०८०
  • चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ ।

    हिजाे चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दु महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दु युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको हाे ।

    यसअगाडिको नामले सनातन धर्ममाथि चोट पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँच पास रोकिएको थियो । सहमति जुटेसँगै जाँचपासको प्रक्रियासमेत अगाडि बढेको छ । दुई पक्षबीचमा देखिएको विवादलाई मिलाउन बोर्डले अभिभावकीय भूमिका निर्वाह गरेको अध्यक्ष भुवन केसीले बताउनुभयो ।

    ‘हामीले जाँचपासका लागि सिफारिस रोकेका थिएनौँ । सहमति जुटाउने प्रयास मात्र गरेका हौँ । सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो’, बोर्ड अध्यक्ष केसीले भन्नुभयो ।

    निर्माता सुनिलकुमार थापाले चलचित्र परिवर्तित नामसँगै घोषित मिति २९ भदौदेखि प्रदर्शन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सबैको भावनाको कदर गर्दै नाम परिवर्तन गरेर प्रदर्शन गर्दैछौँ । चलचित्रले कुनै धर्म वा समुदायलाई ठेस पुर्‍याएको छैन ।’

    झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs