पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने क्रममा बिजुलीका खम्बा व्यवस्थापन नगर्दा जोखिम बढ्यो

  • कालिका खवर
  • बुधबार, मंसिर २७, २०८०
  • कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ ।

    राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिनभन्दा दुई फिट मात्रै माथि रहेको छ । ट्रान्सफर्मरका तारमा यात्रु, घरपालुवा जनावर वा सवारी साधनले छोए करेन्ट लागेर दुर्घटना हुने सम्भावना  छ ।राजमार्ग चौडा गर्ने क्रममा माटो भर्दा खम्बामा राखिएको ट्रान्सफर्मर जमिनमै छुने अवस्थामा पुग्दा पनि सम्बन्धित निकायले सुरक्षाका लागि चासो नदेखाएको स्थानीयवासी गणेशबहादुर ऐरले बताए । “पटक–पटक जनप्रतिनिधि र सम्बन्धित निकायको ध्यानाकृष्ट गर्दा पनि खम्बा व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छैन” उनले भने, “ट्रान्सफर्मरका नाङ्गो तारमा छोएमा जुनसुकै बेला पनि अप्रिय घटना हुनसक्छ ।”

    पूर्वनगर प्रमुख दिलबहादुर ऐरले सडकमै छोइने गरी टाँगिएका तार, पोल र ट्रान्सफर्मर व्यवस्थापनको कार्य तत्काल गरिनुपर्नेमा जोड दिए । “जनप्रतिनिधिसँगै सम्बन्धित निकायले नगरवासीको सुरक्षालाई ध्यान दिँदै सडक क्षेत्र सुरक्षित बनाउनुपर्छ,” उनले भने, “दुर्घटना निम्तिनु अघि नै सडक क्षेत्रलाई सुरक्षित गरिनुपर्छ ।” राजमार्गको बनसमितिदेखि कलुवापुर क्षेत्रसम्मका एक दर्जन बढी बिजुलीका खम्बा व्यवस्थित गर्नुपर्ने अवस्थामा रहेको पूर्वनगर प्रमुख ऐरको भनाइ थियो ।सडक क्षेत्रमा गाडिएका खम्बा व्यवस्थापन नगरे करेन्ट लागेर हुने दुर्घटना एकातर्फ छ भने अर्कोतर्फ पोलमा सवारी साधन ठोक्किएर हुने दुर्घटनाको जोखिमसमेत उत्तिकै रहेको उनले बताए । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण शाखाका प्रमुख चुटुककुमार श्रीवास्तवले सडक क्षेत्रमा रहेका बिजुलीका खम्बा सार्ने कार्य सडक डिभिजन कार्यालयको रहेको बताए ।

    “सडक डिभिजन कार्यालयलाई बजेटको व्यवस्थापनका लागि भनेका छौँ, मानेकै छैन,” उनले भने,“सडक चौडा गर्नुभन्दा पहिलानै हामीसँग सम्पर्क गरेको भए योजना राख्न सकिन्थ्यो, सडकले बजेट छुट्ट्याएन,पोल सार्ने बजेट हामीसँग पनि नहुँदा कार्य रोकिएको छ ।”सडक डिभिजन कार्यालय कञ्चनपुर शाखाका सूचना अधिकारी तारानाथ सिग्देल सडकको क्षेत्राधिकार ५० मिटरभित्र बिजुलीका खम्बा गाड्नै नपाउने नियम रहेको बताए । जोखिम भएपछि प्राधिकरणले नै ट्रान्सफर्मरलाई सुरक्षित गर्ने र पोल सार्ने काम गर्नुपर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs